काठमाण्डौ – तराई मधेशका जिल्लामा अझै ४ दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर सोमवारदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो ।तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने तिन दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ ।

तातो हावाका कारण थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर लाग्ने, बेहोस हुने, बान्ता आउने लगायतका समस्या हुन सक्छन् । तातो हावाको असरबाट बच्न बढी गर्मी हुने समयमा सकेसम्म घरभित्र वा चिसो हावामा बस्न, हल्का कपडा लगाउन, प्रशस्त मात्रामा पानी तथा झोलिलो पदार्थ खान महाशाखाले बुलेटिनमार्फत आग्रह गरेको छ ।

यसैबीच धनगढी, नेपालगञ्ज, भैरहवा, वीरगञ्ज, सिमरा र जनकपुरको तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । अझ जनकपुर र भैरहवाको तापक्रम ४० डिग्री सेल्सियसभन्दा पनि धेरै छ ।शनिवार वीरगञ्जको तापक्रम ४२, भैरहवाको तापक्रम ४३ दशमलव ६, नेपालगञ्जको ४२ दशमलव २ र धनगढीको ४२ दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।

वीरगञ्ज रानीघाटस्थित क्षेत्रीय कृषि औजार अनुसन्धान केन्द्रमा रहेको स्वचालित वेदर स्टेशनका अवजर्भर कामेश्वर राउत कमकरका अनुसार सोमवार बिहान पौने ९ बजे वीरगञ्जको तापक्रम २३. ५ डिग्री सेल्सियस थियो । सोमवार दिउसो भने वीरगञ्जको तापक्रम ४२ डिग्री पुगिसकेको थियो । केही दिनयता वीरगञ्जको तापक्रम नियमित रुपले ४० डिग्रीसम्म रेकर्ड हुदैआएको छ ।तराईका विभिन्न ठाउँमा तातो हावा चलेर तापक्रम ‘लु’ को अवस्थामा पुगे पनि जल तथा मौसम विज्ञान विभागले ‘लु’ चलेको आधिकारिक घोषणा गरिसकेको छैन । सामान्यतया लगातार तीन दिन वा त्योभन्दा धेरै समयसम्म असामान्य रूपमा तापक्रम बढ्दा ‘लु’ चलेको घोषणा गरिन्छ ।यसको निश्चित मापदण्ड नभए पनि निरन्तर तापक्रम ४० डिग्रीभन्दा माथि पुग्यो भने ‘लु’ चलेको घोषणा गर्ने गरिएको मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

Leave a Reply