हेटौडा,हेटौँडा काठमाडौँ जोड्ने छोटो दुरीको कुलेखानी मातातीर्थ सडक वैशाखभर बन्द हुने भएको छ ।स्तरोन्नतिका लागि हेटौँडा–कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चखेल–मातातीर्थ सडक वैशाख मसान्तसम्मका लागि बन्द गरिने भएको हो । मकवानपुर र काठमाडौँ दुवैतर्फ स्तरोन्नतिको काम भइरहेकाले सडक बन्द गरिएको हो ।
स्तरोन्नति सहित कालोपत्रे गर्न वैशाख १० गतेबाट ३१ गतेसम्मका लागि कुलेखानी–महालक्ष्मी दोभान–घट्टेखोला–चरखेल–माततीर्थ सडक बन्द रहने इन्द्रसरोवर गाउँपालिका वडा नम्बर–५ को कार्यालयले जनाएको छ । महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडकअन्तर्गत मकैवारीदेखि माततीर्थसम्म सडक खण्डमा बेस बिछ्याउने र कालोपत्रे गर्ने काम भइरहेको इन्द्रसरोवर– ५ का वडाध्यक्ष दुतराज तितुङले बताउनुभयो । उक्त सडक खण्डमा कालोपत्रे लगायत सडक स्तरोन्नतिको कार्य भइरहेकोले वैशाख ३१ गतेसम्मका लागि सडक बन्द गरिएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार काठमाडौँको चन्द्रागिरि नगरपालिका– ८ को कार्यालयले पनि सडक बन्द गरेको छ । सतुंगल–मातातीर्थ–देउराली–कुलेखानी सडक अन्तर्गत पूर्वाधार विकास कार्यालय, ललितपुरमार्फत निर्माण कार्य गर्न सडक बन्द गरिएको हो ।उक्त सडकमा सवारीको चाप अत्यधिक भई निर्माण कार्य गर्न असहज भएको भन्दै पूर्वाधार विकास कार्यालयले पूर्णरुपमा बन्द गराई सहजीहरण गर्न आग्रह गरेको थियो । यसअघि निर्माणाधीन महालक्ष्मी दोभान–घट्टेखोला–चखेल मातातीर्थ सडक नयाँ वर्षको अवसरमा खुला गरिएको थियो । इन्द्रसरोवरको मार्खु कुलेखानी क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको भन्दै नयाँ वर्षको अवसरमा पर्यटकलाई आवतजावतमा सहजताका लागि खुला गरिएको हो ।

















