कृष्ण मोहन साह

सेढवा,लकडाउनको मौका छोपी पर्साको ग्रामीण क्षेत्रमा कालाबजारी सुरु भएको छ । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका, जीराभवानी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, पर्सागढी नगरपालिका, ठोरी गाउँपालिकालगायतका पालिकाहरुमा कालाबजारी गर्नेको संख्या बढदै गएको स्थानियहरुले गुनासो गरेकाछन् । खाद्यान्न वस्तुमा गाउँघरमा रहेका पसलेहरुले कालाबजारी गरिरहेको स्थानीयले जानकारी दिएका छन् । पसलेहरुले प्रतिबोरा ९०० सय पर्ने सोनामन्सुली चामल १३००, प्रतिकिलो १ सय ८० रुपैयाँ पर्ने खाने तेल ३ सय २० रुपैयाँ, प्रतिकिलो ८० पर्ने चिनी १२० रुपैयाँ, प्रतिकिलो ३५ रुपैयाँ पर्ने आलु ६० रुपैयाँ, २० रुपैया पर्ने कपडा धुने साबुनलाई ३० रुपैयाँ, प्रतिकिलो ५० रुपैयाँ पर्ने चिउरा ८० रुपैयाँ, प्रतिपिस ५ रुपैया पर्ने भोलागुट्खा १० र १००को रिचार्ज कार्डमा १०५ देखि ११० रुपैयाँसम्म लिने गरेको जीराभवानीका स्थाानीय बासिन्दाले बताएका छन् ।

लकडाउनको अवधिमा कालाबजारी नगर्न प्रदेश २ का मुख्य मन्त्री लालबाबु राउतले पटक—पटक आग्रह गरेपनि पर्साको ग्रामीण क्षेत्रमा कालाबजारी रोकिएको छैन् । यस्तै पटेर्वासुगौली गाउँपालिकाका प्रमुख हरीनारायण चौधरीले पटेर्वासुगौली गाउँपालिकाभित्रमा कालाबजारी भएमा कारबाही हुने बताउदै आउनुभएको छ । लकडाउनका कारण दैनिक छाक टार्न समस्या परेका बेला कालाबजारी गर्ने पसलेहरुलाई कुनै हालतमा नछाड्ने चेतावनी समेत दिएको गाउँपालिका प्रमुख चौधरीले बताउनुभयो ।

Leave a Reply