सिम्रौनगढ,संघीय मामला तथा स्थानीय विकास मन्त्रालयले उपसचिव दिनेशकुमार न्यौपानेलाई सिम्रौनगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नियुक्त गरेर पठाएको छ ।
न्यौपानको नियुक्तिपछि नगरपालिकामा दुई जना अधिकृतबीच चल्दै आएको विवाद अन्त्य भएको छ ।
यसअघि मन्त्रालयले नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जैसवालको साउन २० गते काज फिर्ता गरि उहाँको स्थानमा सातौं तहका बिरेन्द्र साहलाई निमित्तको रुपमा काम गर्ने गरी खटाएको थियो ।
नगर प्रमुख किशोरीप्रसाद साहले निमित प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र साहलाई बरिष्ठताको आधारमा सिफारिस गरेपछि मन्त्रालयले उहाँलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको थियो । तर नगर कार्यपालिकाका बहुमत सद्स्यहरुले जैसवाललाई नैं निमित्त राख्नु पर्ने अडान राखेपछि सिम्रौनगढमा दुई जना निमित्त प्रमुख प्रशासकीय अधिकृतको बिवाद सुरु भएको थियो ।
मन्त्रालयले न्यौपानेलाई सिम्रौनगढ पठाएपछि नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको विवाद टुङ्गिएको छ । कार्यालयमा शुक्रवार हाजिर हुनु भएका उपसचिव न्यौपानेलाई नगर प्रमुख साहले स्वागत गर्नुभएको थियो ।
















