सामूहिक करणीको घटनामा पीडितलाई क्षतिपूर्ति कलैया, १२ वर्षीय बालिकालाई सामूहिक करणी गरेको घटनामा जिल्ला सरकारी वकिल कार्यालय बाराले पीडितलाई क्षतिपूर्ति दिएको छ । जिल्ला अदालतबाट भएको फैसलाका आधारमा बालिकालाई पीडित राहत कोषबाट २ लाख ५० हजार क्षतिपूर्ति उपलब्ध गराइएको हो । जबरजस्ती करणी घटनामा राज्य कोषबाट पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि झन्झटिलो प्रक्रियाका कारण यसअघि कार्यान्वयनमा आउन सकेको थिएन । जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले पीडितलाई क्षतिपूर्ति दिन सक्ने कानुनी व्यवस्था भए पनि विगतमा कार्यान्वयनमा आउन नसकेको बताउनुभयो । पीडितले दायर गरेको अभियोग पत्रका जिल्ला अदालत बाराले सरकारी वकिल कार्यालयमार्फत क्षतिपूर्ति उपलब्ध गराउन पत्राचार गरेको थियो । अदालतको परिपत्रका आधारमा सरकारी वकिल कार्यालयले एक साताअघि क्षतिपूर्ति रकम उपलब्ध गराएको हो । २०७९ बैशाख २० गते जीतपुरसिमरा वडा नं १ की १२ वर्षीय वालिकालाई घरमा खाना पकाइरहेको अवस्थामा सिलिप पासवान सहित ४ जनाले हुलास स्टिल पछाडि रहेको थानिमाई सामुदायिक जङ्गलमा लगेर जबरजस्ती करणी गरेको बारा जिल्ला अदालतको फैसलामा उल्लेख छ । जबरजस्ती करणीको सो घटनामा पासवानसँगै मानबहादुर लामा, नरसिंह भारती गिरी र अर्का एक जना बालक रहेका छन् । जबरजस्ती करणीको सो घटनामा प्रतिवादी मानबहादुर लामा, नरसिंह भारती, सिलिप पासवानबाट ६–६ लाख र वालकको हकमा ५० हजार जरिवाना भराइने उल्लेख छ । साथै सो घटनामा मुलुकी अपराध संहिताको दफा २०७४ को दफा २१९ (१) र (२) को कसुरमा दफा २१० (३) ख बमोजिम १९ वर्ष कैद ठहर हुने फैसलामा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here