कलैया,बारामा प्रहरीले गोली चलाएर ठूलो परिमाणमा लागु औषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । गाँजा तस्कर भाग्न खोजेपछि नियन्त्रणमा लिर्नेक्रममा प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो ।बाराको पचरौता नगरपालिका वडा नम्बर ४ इनर्वाबाट प्रहरीले २ सय ३० केजी गाँजा सहित रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ४ टेंग्राहा घर भएका २३ बर्षिय चन्दन पासवानलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा बुधवार मध्यरातमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा खटिएको प्रहरी टोलीले उक्त परिमाणमा रहेको गाँजासहित चन्दनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार, इनर्वास्थित सडकको कल्भर्टमुनि प्लाष्टिकले बेरेर लुकाएर राखिएको अवस्थामा १५ पोका गाँजा प्रहरीले बरामद गरेको हो ।
प्रहरी टोली देखेर गाँजा तस्कर चन्दन भाग्न खोजेपछि उनलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर पनि गर्नुपरेको प्रहरी नायब उपरीक्षक न्यौपानले जानकारी दिनुभयो ।गाँजासहित पक्राउ परेका चन्दनलाई जिल्ला प्रहरी कार्यालय बाराको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच प्रहरीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंजमा वीरगञ्जबाट नारायणघाटतर्फ जादै गरेको ना ५ ख १११८ नम्बरको डिब्बे ट्रकबाट बिल बिजकभन्दा बढी र स्रोत खुलाउन नसकेको अन्दाजी २४ लाख, ७५ हजार ३७ रूपैया मूल्य बराबरको सामान बरामद गरेको छ ।विशेष सूचनाको आधारमा अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले बिहीवार बिहान ५ बजेको समयमा सो ट्रकबाट मोबिल, बिस्कुट, दाल, चना र अन्य अवैध खुद्रा समानहरू बरामद गरेको हो ।बरामति सामानसहित ट्रक नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
त्यसैगरी बारा प्रहरीले बरामद गरेको मदिरा, लागू औषध र सुर्ती बिहीवार नष्ट गरेको छ ।प्रहरीले जिल्लाका विभिन्न मितिमा विभिन्न स्थानबाट बरामद गरेको कस्तुरी २३९ बोतल, कोरेक्स २०० बोतल र सुर्ती ७ मुठ्ठा नियन्त्रणमा लिएर कार्यालय परिसरभित्र सञ्चारकर्मीहरू लगायत अन्यको उपस्थितिमा नष्ट गरेको हो ।

















