कलैया,अत्याधिक चिसो बढेपछि बाराको बिश्रामपुर गाउँपालिकाले पालिकाभित्र रहेका निजी तथा सस्थागत विद्यालयमा चार दिनका लागि पठन पाठन बन्द गरेको छ ।विगत केही दिनदेखि बढेको चिसोको कारण विद्यालयमा अध्ययनरत बालबालिकाहरुको स्वास्थ्यमासमेत प्रतिकुल असर पर्ने भएको हुनाले पुस ८ गते मंगलवारदेखि पुष ११ गते शुक्रबारसम्मका लागि विद्यालयमा पठन पाठन बन्द गरिएको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख महेश रिमालले जानकारी दिनुभयो । वर्षे बिदाबाट कटृा हुने गरी विद्यालयमा बिदा मिलाइएको रिमालले बताउनुभएको छ ।
बाराको परवानीपुर गाउँपालिकाले आइतवार नै सूचना निकालेर आजबाट पालिकाका सबै विद्यालयमा बिदा दिएको थियो । गाउँ कार्यपालिकाको निर्णयअनुसार पुस ७ देखि पुस ११ गते शुक्रबारसम्म विद्यालयको पठन–पाठन बन्द गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले जारी गरेको सूचनामा जनाइएको छ । सो पालिकाले पनि वर्षे बिदाबाट कट्टा हुने विद्यालयमा पठन पाठन बन्द गरेको हो ।३ दिनअघिदेखि चिसो एक्कासी बढेपछि बारालगायत मधेसका जिल्लामा जनजीवन प्रभावित हुदैआएको छ । चिसोका कारण हाट बजार र सडकमा सर्वसाधारणको चहलपहल घटेको छ भने राजमार्गहरुका सवारी र ढुवानीका साधन पनि कम चल्न थालेका छन ।चिसो बढेपछि वीरगन्ज महानगरद्वारा तीन दिन जाडो बिदा
वीरगञ्ज,बाक्लो हुस्सु र शितलहर बढेर जनजीवन प्रभावित बनेपछि वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा तीन दिनका लागि जाडो बिदा दिएको छ ।
चिसो मौसमको प्रभावलाई मध्यनजर गर्दै महानगरपालिकाले आज (सोमबार) देखि लागू हुने गरी बिदा दिने निर्णय गरेको हो । महानगरपालिकाका अनुसार वर्षे सट्टे बिदाबाट कट्टा हुने गरी पुस ७ गतेदेखि पुस ९ गतेसम्म विद्यालयहरू बन्द रहनेछन् ।
यसैबीच, पुस ११ गते शैक्षिक क्यालेन्डरमै बिदा रहेकाले विद्यालयहरू पुस १३ गतेदेखि नियमित रूपमा सञ्चालनमा आउने वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको छ ।
महानगरपालिकाले चिसोबाट बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने असरलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन अभिभावक र विद्यालय प्रशासनलाई पनि आग्रह गरेको छ ।


















