सिमरा,५५ वर्षीय एक महिलामाथि कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १८ कुस्माडीका प्रताप भनिने २३ वर्षीय नरेश चौधरीलाई प्रहरीले सोमवार साँझ पक्राउ गरेको हो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।चौधरीले ५५ वर्षीय महिलालाई बाटो ढुकी जबरजस्ती मकैवारीमा लगी कुटपिट गरी बलात्कारको प्रयास गरेको आरोप छ । पतिकाका लागि टिफिनमा खाना लिएर जाँदै गरेका बेला ती महिलालाई चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरी जबरजस्तीको प्रयास गरेको बताइएको छ । घर जाँदै गरेका पीडितका देवर पर्ने आफन्तले बाटो नजिकै मकैवारिमा महिला चिच्याएको आवाज सुनेर होहल्ला गरेपछि पिडक चौधरी भागेका थिए ।कुटपिटबाट घाइते महिलालाई उपचारका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको र घटना बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।


















