बसन्त लामा
सिंगौल,निजगढ नगरपालिका वडा नम्बर १ सिंगौलस्थित नमुना बस्तीका गरिव, अतिविपन्न र अपाङ्गता भएका आठ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ ।नगर कार्यपालिकाको लक्षित कोष अन्तर्गत कार्यपालिका सदस्य फुलमाया घलानको पहलमा आयोजना गरिएको कार्यक्रममा विपन्न र अपाङ्गता सदस्य भएका परिवारको घरमा जस्तापाता वितरण गरिएको हो।

वडा नम्बर १ का अध्यक्ष मंगल लोप्चनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा विशिष्ट अतिथिको रुपमा कार्यपालिका सदस्य फुलमाया घलान उपस्थित हुनुहुन्थ्यो भने समाजसेवी मोहनबहादुर खड्का, वडा सदस्य कन्तलाल धामीलगायत स्थानीयहरूको पनि उपस्थिति रहेको थियो।जस्तापाता वितरण कार्यक्रमको सञ्चालन शिवशक्ति नमुना आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजिव लोप्चनले गर्नुभएको थियो । जस्तापाता प्राप्त गर्ने परिवारहरूमा नेमा जिम्बा, बुद्धिमान लोप्चन, डिल्ली सिंह वल, फेदीसिंह ब्लोन, लक्ष्मीनारायण गुरुङ, मोहन परियारसहित थप दुई जना स्थानीय पनि रहेका छन्।

गत वर्ष पनि सिंगौल क्षेत्रका आठ अतिविपन्न परिवारलाई जस्तापाता वितरण गरिएको थियो। साथै, त्यही कोष अन्तर्गत तीन जना महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले ३२ जना महिलालाई सयपत्री फूल उत्पादन सम्बन्धी तालिम दिइएको थियो।
कार्यपालिका सदस्य फुलमाया घलानकै पहलमा हालै कछडिया टोलस्थित सामुदायिक भवनमा ७० जना महिलालाई लक्षित गर्दै पाँच दिने ‘महिला सशक्तिकरण तथा अभिमुखीकरण’ कार्यक्रम सम्पन्न गरिएको थियो। त्यसै क्रममा हाल आठ जना असहाय, अतिविपन्न र अपाङ्ग घरपरिवारलाई जस्तापाता वितरण गरिएको हो।कार्यक्रममा वडा अध्यक्ष मगल लोप्चन र सदस्य फुलमाया घलानले आफ्ना मन्तव्य राख्नु भएको थियो।

Leave a Reply