पुष्पराज खतिवडा
मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १ डुमरवानामा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेड डुमरवानाका मुख्य प्रबन्धक नारायण क्षेत्रीले पदबाट राजिनामा दिनु भएको छ । आइतबार संस्थाका अध्यक्ष विश्वनाथ लामिछाने समक्ष क्षेत्रीले राजिनामा बुझाउनु भएको हो ।
अबको समय राजनीतिमा खर्चिने भन्दै क्षेत्रीले पदबाट राजीनामा दिएको बताइएको छ । नेकपा एमालेका सक्रिय कार्यकर्ता क्षेत्री नेकपा एमालेबाट तत्कालिन डुमरवाना गाविसमा निर्वाचित अध्यक्ष हुनुहुन्छ । आफ्नो कार्यकालमा क्षेत्रीले जिल्लाका साबिक ९८ वटा गाविस मध्ये उत्कृष्ठ कार्य गरेर डुमरवानालाई जिल्लाकै नमुना गाविसका रुपमा चिनाउनु भएको थियो । उहाँको कार्यकालमा डुमरवानामा अधिकांश सडक निर्माण तथा ग्रेवल भएका छन । गाविसको खर्च घटाएर आफ्नै श्रोतमा ट्याक्टर किनेको र डुमरवानालाई आजको अवस्थामा पुर्याउन उहाँको भुमिका महत्वपूर्ण रहेको स्थानीय झपेन्द्रराज बरालले बताउनुभयो ।
क्षेत्रीकै नेतृत्वमा २०५३ सालमा साना किसान कृषि सहकारी संस्था पनि स्थापना भएको हो । उहाँको पहलमा सहकारीमार्फत डुमरवानामा संस्थागत विद्यालय र डेरी समेत संचालनमा छन । एक अरब ७५ करोड माथिको कारोबार गर्ने साना किसान कृषि सहकारी संस्था देशकै उत्कृष्ठ संस्थाको रुपमा पटकपटक पुरस्कृत समेत भएको अध्यक्ष विश्वनाथ लामिछानेले जानकारी दिनुभयो ।
२०६६ मा क्षेत्री राजनैतिक नियूक्ति पाएर बारा जिल्लाको सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष समेत बन्नु भएको थियो । उहाँ अध्यक्ष भएका बेला डुमरवाना, पथलैया, निजगढ लगायत स्थानका २ हजार ५ सयभन्दा बढी सुकुम्बासीले जग्गाधनी पूर्जा पाएका थिए । त्यसयता जिल्लामा सुकुम्बासीले पूर्जा पाएका छैनन् ।
पछिल्लो समय संस्थामा संचालकहरु बीचमा आन्तरिक विवाद सुरु भएपछि अध्यक्ष क्षेत्री निकै दवावमा पर्नु भएको थियो । दवावकाबीच राजिनामा दिनु भएका क्षेत्रीले पुनः राजनीतिमा सक्रिय हुने गरी संस्थाको जागिर छाडेको बताउनुभयो । संस्थाको संचालक समितिले क्षेत्रीको राजिनामा आइतवार नै स्वीकृत गरेको अध्यक्ष लामिछानेले जनाए ।