रौतहट,रौतहटको चन्द्रपुर नगरपालिका– ८ सन्तपुरमा रहेको अस्थायी प्रहरी चौकीका इन्चार्जले काठ चोरी गरेको भन्दै सोमवार बिहान स्थानीयले चौकी घेराउ गरेपछि इन्चार्ज उपर कारबाही हुने भएको छ ।
सोही स्थानकै कृषि सहकारी साझा संस्थाको भवनमा सञ्चालन हुँदै आएको अस्थायी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक दिनानाथप्रसाद यादव संस्थाकै काठ चोरीको आरोपमा कारबाहीमा पर्ने भएका हुन् ।
काठले बनेको साझा संस्था पक्की भवनमा परिणत भएपछि संस्थाले प्रहरी चौकी परिसरमै सुरक्षितसँग राखेको काठ चौकीका इन्चार्ज यादवले विभिन्न किसिमका फर्निचर बनाई आफ्नो घरमा पठाउने गरेको स्थानीय काठ मिस्त्रीबाट सूचना पाएपछि सन्तपुरवासीले चौकी घेराउ गरेका थिए ।वडा अध्यक्ष जितेन्द्र चौधरीले संस्थाको केही काठ इन्चार्ज यादव बस्ने कोठामा समेत भेटिएको बताउनुभयो । चोरिएको काठको क्षतिपूर्ति र इन्चार्ज यादवलाई कारवाहीको माग राख्दै चौकी घेराउ गरिएको वडा अध्यक्ष जितेन्द्र चौधरीले बताउनुभयो ।
घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खट्नुभएका प्रहरी निरीक्षक गायत्रीराज शर्माले स्थानीयसँग लामो छलफल गरी चौकीका इन्चार्ज यादव उपर अनुसन्धान गरिने र दोषी ठहरिएमा विभागीय कारबाही गरिने आश्वासन दिनुभएको थियो ।यता संस्थाका अध्यक्ष तथा नगरपालिका पूर्वप्रमुख रामचन्द्र चौधरीले संस्थाको काठ मात्र नभई इन्चार्ज यादवले चोरी निकासीको अवैध काठसमेत बरामद गरी निजी उपयोग गरेको आरोप लगाउनुभएको छ ।


















