राजकुमार यादव

मौलापुर,नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले रौतहटको मौलापुरमा नवनिर्मित बस पार्कको उद्घाटन गर्नुभएको छ । स्मार्ट शहर निर्माण गर्ने अभियान अन्तर्गत पूर्वमन्त्रीसाहले बिहीवार एक समारोेहबीच बस पार्कको उद्धाटन गर्नुभएको हो ।

मौलापुर नगरपालिकाकी नगर प्रमुख एवम् मधेश प्रदेशकी प्रथम महिला मेयर रीनाकुमारी साहको अध्यक्षतामा भएको उद्घाटन समारोहमा हजारौं स्थानीयको उपस्थिति रहेको थियो । सो अवसरमा जनप्रतिनिधि तथा जिल्लाका शीर्षस्थ नेताहरुको पनि उपस्थिति रहेको थियो ।

बसपार्क संचालनमा आएसंगै यस क्षेत्रमा यात्रुवाहक सवारी साधनको व्यवस्थापनमा सहजता हुनुका साथै यात्रीहरूलाई समेत विशेष सहयोग पुग्ने भएको छ । रौतहटको सबैभन्दा ठूलो बसपार्कको रुपमा निर्माण भएको मौलापुर बसपार्क मधेश प्रदेशकै एक नमुना वसपार्कको रुपमा रहेको छ ।

साढे चार बिघामा फैलिएको बसपार्क निर्माण गर्नका लागि शहरी विकास मन्त्रालयबाट तत्कालीन विभागीय मन्त्री साहले १३ करोडको ठेक्का गराउनु भएको थियो । बसपार्क निर्माणको ठेक्का रमण आश्रय जेभीले पाएको थियो । बसपार्क पूर्णत अत्याधुनिक डिजाइनमा बनाइएको छ भने बसपार्कभित्र प्रशासनिक भवन, टिकट काउन्टर, यात्रु प्रतिक्षालय, सुविधासम्पन्न शौचालय तथा फराकिलो बस पार्किङ एरिया रहेको छ ।

बसपार्क उद्घाटन गर्दै नेता साहले मौलापुरको विकासमा एउटा कोशेढुंगाको रुपमा मौलापुर बसपार्क रहेको जीकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here