निजगढ,नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले विभिन्न व्यक्तिहरुको फेसबुक ह्याक गरी रकम ठगी गर्ने गिरोहमा संलगन रहेको आरोपमा बाराका ४ जनासहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार पीडितहरुले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उक्त घटनामा संलग्न ५ जनाको गिरोहलाई काठमाडौंको बसपार्कस्थित रेसुंगा बुटवल गेष्ट हाउसबाट नियन्त्रणमा लिइएको हो ।प्रहरीले नियन्त्रण लिएकाहरुमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– १७ रामनगर घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने सिमान्त लामा, अमन्त लामा, अनुप श्रेष्ठ र रोहन तामाङ तथा कास्कीको पोखरा महानगरपालिका– १० घर भई हाल काठमाडौं नयाँ बसपार्क नै बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेका छन् ।प्रहरीका अनुसार सिमान्त विभिन्न फेसबुक ह्याक गर्थे । फेसबुक ह्याक भइसकेपछि विभिन्न बहाना बनाएर पैसा माग्ने काम भने अमन्तले गर्ने गरेका थिए । त्यस्तै अमन्तले मागेको पैसा बालेटबाट झिक्ने काम भने अनुप र शुभेक्षाले गर्ने र रोहनले सिमकार्ड उपलब्ध गराउने गरेको प्रहरी उपरीक्षक रेग्मीले बताउनुभयो ।प्रहरीका अनुसार अहिलेसम्म २२ जना पीडितहरु सम्पर्कमा आएका छन् । गिरोहले हालसम्म १४ लाख ५८ हजार रुपैयाँ ठगी गरेको विवरण भेटिएको कार्यालयले जनाएको छ ।



















