वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले यसवर्ष पनि ‘रात्रि बजार’ लाई निरन्तरता दिने भएको छ । नयाँ वर्ष र ईदको अवसर पारेर यहि चैत २९ गते बेलुकादेखि ३ दिनसम्म रात्री बजार लगाउने तयारी महानगरको छ । आदर्शनगर चोकदेखि पुरानो बसपार्कसम्म महानगरपालिकाले ‘रात्रि बजार’ लगाउने तयारी गरेको हो ।गएको वर्षदेखि सुरु गरिएको रात्रि बजारलाई यसवर्ष पनि निरन्तरता दिन नयाँ वर्षको अवसर पारेर पुन बजार लगाउन लागिएको महानगरप्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो । सुस्ताएको व्यापार व्यावसायलाई चलायमान बनाउने अपेक्षासहित महानगरपालिकाले रात्री बजार लगाउने गर्दछ ।

रात्री बजार लाग्ने समयावधिभर वीरगञ्ज नाका रातभर खुला हुने प्रमुख सिंहले बताउनुभयो । भारतीय नागरिकहरुलाई पर्ने समस्यालाई मध्यनजर गर्दै बजार लाग्ने समयावधिभर नाका रातभर खुल्ला राख्ने उहाँले बताउनुभयो ।तीन दिन सम्म २४ सै घण्टा नाका खुल्ला राख्नका लागि नेपाल र भारत दुवै देशका सुरक्षा निकायसँग सहमति भइसकेको उहाँले जानकारी दिनुभयो । आज महानगर प्रमुख सिंहको कार्यकक्षमा सरोकारवालाबीचको छलफलमा रात्रि बजार सभ्य र भव्य रुपमा सम्पन्न गर्न सबैले आ–आफ्नो ठाउँबाट सहकार्य गर्ने सहमति भएको छ ।

ग्रिनसिटी सामुदायिक सेवा प्रहरी केन्द्र, एनवाईईएफ, वीरगञ्ज साइक्लिङ क्लब, ओमेन्स क्रिएसन र फोरजिआर जस्ता संस्थासँगको सहकार्यमा ‘रात्रि बजार’ लगाउने तयारी गरिएको महानगरपालिकाले जनाएको छ ।

Leave a Reply