काठमाण्डौ – वामपन्थी नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । पार्किन्सन्स रोगबाट पीडित नेपालको उपचारका क्रममा मंगलवार दिउँसो काठमाण्डौको थापाथालीमा रहेको नर्भिक अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
७१ वर्षीय नेपाल लामो समयदेखि पार्किन्सन्स रोगबाट पीडित हुनुहुन्थ्यो । केही दिनअघि अस्पताल भर्ना भए पनि मंगलवार उहाँलाई आईसीयूमा सारिएको थियो ।नेता नेपाल २०१० साल पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिनुभएको हो । एमाले वृत्तमा कडा मिजासका बौद्धिक नेताको परिचय बनाएका उहाँले २०२६ सालमा सगरमाथा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य भएर राजनीतिक जीवनको शुरुआत गर्नुभएको थियो ।नेपाल सूचना तथा सञ्चार, जलस्रोत, स्वास्थ्य तथा शिक्षा तथा खेलकुदमन्त्री बन्नुभएको थियो । साहित्यकारसमेत रहेका नेपालका उपन्यास, कथा, गीत, नियात्रालगायतमा कलम चलाउनुभएको थियो ।
२०८० साल चैत ३० मा भक्तपुरमा आयोजित एक साहित्यिक कार्यक्रममा सहभागी हुने क्रममा अचानक बिरामी परेपछि उहाँ सार्वजनिक कार्यक्रममा त्यति धेरै सक्रिय रहनुभएन । उहाँ सप्तकोशी मिडिया प्रालिको अध्यक्षसमेत हुनुहुन्थ्यो ।
नेपालको मंगलवार नै पशुपति आर्यघाटमा रहेको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी दिनुभयो ।


















