जीतपुर,प्रदेश नम्बर २ को सामाजिक विकास मन्त्रालय र जीतपुरसिमरा उपमहानगरको साझेदारीमा संचालित विभिन्न सीपमुलक व्यवसायीक तालिमको जीतपुरसिमरा उपमहानगरपालिकाले अनुगमन गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाका अधिकांश वडामा संचालित सिलाई कटाइ, मोबाईल मर्मत, ब्युटिसियन, कपडामा जडी भर्ने, कुसन डल तथा सजावट सामग्री, ढाका बुनाइलगायत तालिममा करिब ४७ शीर्षकमा १३ ओटा संस्थाले कार्यक्रम संचालन गर्दै आएका छन् ।
कार्यक्रम संचालन तथा अनुगमनको अधिकार पाएको यस व्यवसायिक तथा सीप विकास तालिमलाई प्रभावकारी बनाउन नगरपालिले बुधवार अनुगमन गरेको हो । जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतकुमार पोखरेलको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमन टोलीमा समाजिक विकास शाखाका प्रमुख दुर्गा न्यौपाने, सहायक हरिकिशोर साह, संचारकर्मीलगायतको सहभागिता रहेको थियो ।
तालिम संचालनमा रहेको वडा नम्बर ४, १२, १३ र १५ का ५ मा पुगेर टोलीले अुनगमन गरेको हो । अनुगमनको क्रममा सहभागीहरुले आफुहरुलाई तालिम संचालन गर्ने संस्थाले कुनै किसिमको कमी हुन नदिएको बताएका छन् ।
तालिममा सहभागी वडा नम्बर १३ पोताकी पुतलीकुमारी चौधरीले सिलाईकटाइ तालिममा सहभागी भएपछि आफुले बालबालिकाको भित्री लुगा र अन्य पोशाक सिलाउन जानेको बताउनुभयो ।
यसैगरी वडा नम्बर ४ औराहाकी पवित्रा दहालले बैशाख २० गतेबाट संचालनमा रहेको ब्युटिसीयन तालिममा प्रशिक्षकले आफुहरुलाई राम्रोसंग सिकाइरहको बताउनुभएको छ । उहाँले आफुहरुलाई अब लेभल २ पनि सिक्न मन लागेको भन्दै त्यसको व्यवस्था मिलाइदिन नगरपालिकासंग अनुरोध गर्नुभयो । यसैगरी वडा नम्बर ४ मै संचालित तालिम कुशल डल तथा सजावटको सामग्री बनाउने तालिमकी सहभागी सबिता राईले तालिम प्रभावकारी भएको बताउनुभएको छ । उहाँले प्रत्येक दिन तालिम संचालकले खाजा दिने गरेको र पुरै समय तालिम दिएकै कारण आफुहरु धेरै कुरा सिकेको जानकारी दिनुभयो ।
अनुगमनको क्रममा सहभागीहरुलाई प्रशिक्षकले तालिम दिएको र कुनै पनि किसिमको कमी हुन नदिएको पाइएको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पोखरेलले बताउनुभएको छ । उहाँले एक संचारमाध्यमले गलत समाचार प्रशारण गरेर कार्यक्रम नै संचालन नभएको र खाजा समेत नदिएको झुठो समाचार प्रकाशन गरेको भन्दै आफु तालिम संचालन भएकै स्थलमा पुगेर अनुगमन गर्दा त्यस्तो नपाएको बताउनुभएको छ ।
अनुगमनको क्रममा वडा नम्बर १२ फतेपुरका वडा सदस्य सोमनाथ रिजालले पनि नियम पुर्वक तालिम संचालन हुदैँ आएको जानकारी दिनभयो । उहाँले आफ्नो वडामा संचालित तालिमको रेखदेख गर्ने जिम्मेवारी वडाको समेत भएकोले आफु बेला बेलामा तालिम संचालन भए÷नभएको हर्ने जाने गरेको पनि बताउनुभयो । उहाँले तालिम प्रभावकारी रुपमा संचालन भइरहेको बताउनुभयो ।