जोगिरा सररर….होली हे …. नेपालीजनको प्रिय अनि विशिष्ठ रङ्गीन पर्व, होली २०८० को शुभकामना । फागु, होली, फागुपूर्णे अनेकन नामले यो पर्व चिनिन्छ ।
मिल्ने भए तपाईको मोबाइल स्क्रीनबाटै पिचिचि पारेर हामी नेपालको चिसो अनि निर्मल पानी छ्यापी दिने थियौं । आनन्द अनि उत्साहको यो बसन्त क्रृतुको चाडमा आफ्ना लागि केही समय निकाल्नुहोला । अनि आफन्तजनसँग भेट्नु होला या सन्देश अनि फोन गर्नुहोला । जहाँ हुनुहुन्छ, जे गर्दै हुनुहुन्छ अनि जुनसुकै अवस्थामा हुनुहुन्छ, होलीको रङ्गले अनि उत्साहले तपाईलाई छोओस् । अनि छुनैपर्छ पनि । होलीका बारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरु अनि गीतहरु रचना गरिएका छन् ।
परापूर्व कालदेखि चलिआएको यो पावन पर्वको कृपाले हामी सबैका श्यामस्वेत सपनाहरुले रङ्ग पाउन्, उमंग पाउन् अनि नयाँ ढंग पाउन् । उतिबेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरु नै किन नहुन्, बसन्त ऋतुको यो महान पर्व होलीका पृष्ठभूमिहरु अनि मनाइएका चलनहरु प्रशस्तै इतिहासमा वर्णित छन् । काठमाडौंको बसन्तपुरमा विधिपूर्वक चीर ठड्याएपछि होली पर्व औपचारिक शुरुवात भएको हो ।
यो वर्षको होली आजबाट औपचारिक रुपमा शुरु भएको छ । आज र भोलि यो पर्व कम्तीमा तराई मधेसमा मनाउने गरिन्छ । होलीको विशेषताका विषयमा त धेरै व्याख्या गर्न आवश्यक भएन तैपनि तराई मधेसमा त यसको विशेष महत्व छनै । त्यसैले पनि होली पर्व आपसी सम्बन्धको एक ज्वलन्त उदाहरण पनि हो । फागु अथवा होली पर्वको अवसरमा हामी हाम्रा सम्पूर्ण विज्ञापनदाता, शुभचिन्तक तथा शुभेच्छुकमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

















