कलैया,बारामा सोमबार साँझ छठ पूजा हेर्न गएका युवकको शव फेला परेको छ । महागढीमाई नगरपालिका वडा नम्बर ५ बगडमपुरका १९ वर्षीय भोला सहनीको शव मंगलबार बिहान गाउँकै पोखरीमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको छ ।

सहनी सोमबार साँझ छठ पूजा हेर्न घरबाट निस्केका थिए । तर, उनी रातीसम्म घर नफर्केपछि मंगलबार बिहान उनका बुबा ध्रुव सहनीले गंजभवानीपुर प्रहरी चौकीमा छोरा हराएको जानकारी दिनुभएको थियो ।प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक बालराज गिरिको नेतृत्वमा खटिएको टोलीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिकाको वडा नम्बर ४ र ५ को सिमानामा रहेको बाँसघारीमा भोलाका व्यक्तिगत सामग्रीहरू फेला पारेको थियो । प्रहरीका अनुसार घटनास्थलमा उनका स्टिलको बाला, जुत्ता, पर्स, कालो हुडी, मोबाइल, घडी र इयरबड बरामद भएको छ ।
खोजतलासकै क्रममा सो बाँसघारीनजिकै रहेको दहियार टोलका ललन यादवको पोखरीमा उनको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना शंकास्पद देखिएकाले दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभएको छ ।
















