पत्रकार अथवा सञ्चार जगतलाई राज्यको चौंथो अंगको रुपमा लिने गरिन्छ । त्यसो त कानुनमा यसको यस्तो स्पष्ट व्यवस्था भने छैन । मुलतः पत्रकारहरु स्वतन्त्र हुने हुँदा राज्यको यो वा त्यो अंग भन्ने पनि हुदैन । राज्यको नागरिक भएपछि पत्रकार पनि राज्यप्रति जवाफदेही त हुने नै भयो तर पत्रकार फेरि कतिपय अवस्थामा राज्यको विपक्षमा नै हुने गर्दछन् । पत्रकार कानुनको विपक्ष नभइ गैह्कानुनी क्रियाकलाप गर्ने राज्य संयन्त्रको विपक्ष हुनुपर्छ । र यस्तो प्रवृत्तिको सधै खबरदारी गरिरहनुपर्दछ ।
तर, नेपालमा पछिल्लो समय अलि बढी पार्टी पत्रकारिता र ‘गोजी पत्रकारिता’को विकास भएको गुनासो सुनिन थालेको छ । केही पत्रकारहरुले अमुक दलको भातृ संगठनको रुपमा काम गर्ने र अनुचित लेनदेनको लागि समाचार लेख्ने वा लुकाउने गर्दैआएकाले पनि यस्तो आरोप लाग्ने गरेको हो । त्यसो भन्दैमा सबै पत्रकार पार्टीका पछि लागेका पनि छैनन् र खबरदारी पनि गरिरहेका छन् । तर केही पत्रकारका कारण सबैजसो पत्रकारमाथि यस्तो आरोप लाग्ने गरेको छ ।
पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ अहिले नेतृत्व बिहिन छ । पटक पटक चुनावको मिति ताकेर चुनाव गर्न नसकेपछि ६ महिनाभन्दा लामो समयदेखि पत्रकारको नेतृत्व बिहिन छ । महासंघको चुनाव ६ महिनाअगाडि नै भइसक्नु पर्दथ्यो तर हुन सकेको छैन । अब यही मंसिर २८ गतेका लागि निर्वाचनको मिति तोकिएको छ अब त्यो मितिमा पनि नयाँ नेतृत्वको चयन नहुने हो कि भन्ने आशंका यथावत नै छ । पत्रकार महासंघमा गैरपत्रकारहरु बढेपछि समस्या भएको हो । बिशुद्ध पत्रकार वा संचारकर्मीभन्दा बाहिर रहेका कलम नचलाउनेहरु महासंघको सदस्य नबन्ने हो भने समस्या थिएन तर यहाँ यो पेसामा नभएका र अन्य व्यवसाय गर्दैआएकालाई सदस्यता चाहिएको छ । यस्तो अवस्थामा महासंघको गरिमा बच्छ होला र अनि यति लामो समयसम्म चुनाव नहुँदा पनि अब चेत नखुले कहिले खुल्ने ?
















