निजगढ,निजगढ नगरपालिकाबाट बनाइदै आएको राष्ट्रिय परिचय पत्र अब ईलाका प्रशासन कार्यालयबाट वितरण हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाराले जेठ १६ गते सूचना जारी गर्दै निजगढ र जीतपुरसिमरा उपमहानगरपालिकाको परिचय पत्र ईलाका प्रशासन कार्यालय सिमराबाट वितरण सुरु गरेको जानकारी दिएको हो ।
यसअघि निजगढका बासिन्दालाई नगरपालिका कार्यालयबाट अन्य पालिकाको निम्ति जिल्ला प्रशासन कार्यालय बाराबाट राष्ट्रिय परिचय पत्र वितरण हुँदै आएको थियो । राष्ट्रिय परिचय पत्र कार्यालयलाई व्यवस्थित र मर्यादिन बनाउने ईलाका प्रशासन कार्यालयबाट वितरण सुरु गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ ।
नयाँ व्यवस्था अनुसार जिल्ला प्रशासन कार्यालय अन्तर्गत कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, फेटा गाउँपालिका, प्रसौनी गाउँपालिका, विश्रामपुर गाउँपालिका, परवानीपुर गाउँपालिका, करैयामाई गाउँपालिका, सुवर्ण गाउँपालिका, देवताल गाउँपालिका, बारागढी गाउँपालिकाबाट राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ । तर जिल्ला प्रशासन कार्यालय अन्तर्गत बारागढी गाउँपालिकाको वडा नम्बर ५ मा वितरण गरिने छैन ।ईलाका प्रशासन कार्यालय सिमरा अन्तर्गत जीतपुरसिमरा उपमहानगरपालिका र निजगढ नगरपालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ ।यस्तै ईलाका प्रशासन कार्यालय कोल्हबी अन्तर्गत कोल्हबी नगरपालिका र बारगढी गाउँपालिका वडा नम्बर ५ मा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ ।
साथै ईलाका प्रशासन कार्यालय सिम्रौनगढ अन्तर्गत सिम्रौनगढ नगरपालिका, पचरौता नगरपालिका र आदर्शकोतवाल गाउँपालिकामा राष्ट्रिय परिचय पत्र वितरण सुरु गरिएको छ ।‘हालका दिनहरुमा अत्याधिक गर्मी बढेको र जेष्ठ नागरिकहरु लगायत सेवाग्राहीको अत्याधिक चाप बढी असहज अवस्था रहेको छ । जेष्ठ नागरिकहरुलाई लक्षित गरी यस मिहना भित्रै वडा स्तरमा राष्ट्रिय परिचयपत्र दर्ता अभियान सञ्चालन गरिने भएकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही लागायत सम्पूर्ण सरोकारवालाहरुलाई जानकारी गराइन्छ,’ सूचना भनिएको छ ।


















