निजगढ,बाराबाट प्रहरीले ५२ लाख बढी मूल्यका भन्सार छलीका सामान लोड रहेको ढुवानीका साधनहरु नियन्त्रणमा लिएको छ ।प्रहरीले संचालन गरेको जाँच अभियानको क्रममा जिल्लाका फरकफरक स्थानबाट प्रहरीले अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो ।
प्रहरीले ५२ लाख ६० हजार ३८८ मूल्यका भन्सार छलीका सामानसहित दुईवटा ट्रक नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक डिएसपी दधिराम न्यौपानेले जनाउनुभयो । इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले जीतपुरसिमरा वडा नं. ७ जीतपुरबाट ना ३ ख ७६५६ नम्बरको मालवाहक ट्रक पक्राउ गरेको उहाँले बताउनुभयो ।वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको उक्त ट्रकमा लोड रहेका १८ लाख ९४ हजार ८४ रुँपैयाका सामानको बिल शंकास्पद लागेकाले नियन्त्रणमा लिइएको डिएसपी न्यौपाको भनाई छ ।
यसैगरी प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीको टोलीले पथलैयाबाट ना ३ ख ४३६४ नम्बरको ट्रक बरामद गरेको प्रहरीले जनाएको छ । ट्रकमा लोड रहेका ३३ लाख ६६ हजार ३०४ मूल्यका खुद्रा सामानको बिल बिजक शंकास्पद देखिएकाले पक्राउ गरेको प्रहरीले बताएको छ ।नियन्त्रणमा लिइएका ट्रकहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको छ ।



















