वीरगन्ज,वीरगन्जको अलौमा गर्न लागिएको महायज्ञमा दलित समुदायलाई विभेद गरेको भन्दै सोमवार वीरगन्जमा प्रदर्शन गरिएको छ ।वीरगन्ज महानगरपालिका–१७ अलौमा ८ देखि १७ चैतसम्म हुने शतचण्डी महायज्ञको तयारीका क्रममा दलित समुदायलाई विभेद गरिएको भन्दै दलित समुदायले जिल्ला प्रशासन कार्यालय पर्साबाहिर प्रदर्शन गरेका हुन् । पूजा समितिले दलित समुदायलाई पूजामा सहभागी हुन नदिने भनेर छुवाछुतको विभेद गरेको उनीहरुको भनाइ छ ।प्रदर्शनमा सहभागीले दलितले मन्दिरमा जान मिल्दैन ?, दलित समुदायमाथि अत्याचार, दलितले मन्दिरमा पूजा गर्न किन मिल्दैन ? भेदभाव गर्न पाईदैन लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।प्रदर्शनमा सहभागी खुबलाल महराले पूजामा बस्न नदिने भनेपछि विरोधमा उत्रिएको बताउनुभयो । गाउँमा समस्या समाधान नहुने देखेपछि जिल्ला प्रशासन कार्यालय पर्सामा न्याय माग्न आएको उहाँको भनाइ छ । पूजाका लागि रमेश चौधरीको संयोजकत्वमा ३५ सदस्यीय समिति बनाइएको छ । समितिमा सुरुमा दलित समुदायको समेत नाम राखिएकोमा पछि हटाइएको दलित समुदायका व्यक्तिहरुको आरोप छ ।अलौंका कृष्णा रामले दलितलाई महायज्ञमा बस्न नदिनु कानुन विपरीत भएको बताउनुभयो । ‘कानुनले जातीय छुवाछुत निषेध गरेको छ, छुवाछुतको भेदभाव हुने नै पूजापाठमा हो, तर यो हटेको छैन’ उहाँले भन्नुभयो, ‘हामीले पनि यज्ञमा गैरदलितले जसरी नै बस्न पाउनुपर्छ । भनेका छौं, हाम्रो हक मिलेन भने कानुनी प्रक्रियामा जान्छौं ।’पूजा समितिका सदस्य एवं मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद चौधरीले पनि विभेद गरेको स्वीकार गर्नुभएको छ । उहाँले यज्ञमा परम्परागत रुपमै सञ्चालन गर्न खोजिएको प्रतिक्रिया दिनुभयो ।यसैबीच प्रदर्शनपछि दलित अगुवाहरुले यज्ञमा सहभागी हुन नदिने भनेर विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएका छन् ।सम्पूर्ण गाउँलेको सहयोगमा चैत ८ गतेदेखि गाउँमा आयोजना गर्न लागिएको सप्तचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरी यज्ञमा सहभागी नगर्ने भनी छुवाछुतको भेदभाव गरेको उल्लेख गरिएको छ । उनीहरुले पूजा समितिमा रहेकाहरुविरुद्ध उजुरी दिएका हुन् । विपक्षीलाई झिकाएर छुवाछुत भेदभाव गरे वापत नियमानुसार कारबाही गर्नुपर्ने उनीहरुको माग छ । सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले दलित समुदायको निवदेन आएको पुष्टी गर्नुभयो । उहाँले घटना के भएको हो भनेर बुझ्न पूजा समितिका मानिसहरुलाई मंगलबार प्रशासन कार्यालयमा बोलाइएको जानकारी दिनुभयो ।


















