सिमरा, बाराको सिमरामा औद्योगिक क्षेत्र स्थापना हुने भएको छ ।वीरगञ्ज पथलैया औद्योगिक क्षेत्रको बीच भागमा पर्ने सिमरामा नयाँ औद्योगिक क्षेत्र स्थापना गर्न नेपाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले सम्भाव्यता अध्ययन शुरु गरेको हो ।नेपाल सरकारको उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई सम्भाव्यता अध्ययनका लागि निर्देशन दिएपछि औद्योगिक व्यवस्थापन लिमिटेडका सहायक निर्देशक इञ्जिनियर सुशिल तिमिल्सिना र जयकृष्ण दुलाल नेतृत्वको टोली बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ४, १५ र १६ मा पर्ने जग्गाको स्थलगत अध्ययनका लागि पुगेको थियो ।प्रारम्भिक अध्ययनका क्रममा सिमरामा विशेष आर्थिक क्षेत्रका लागि निर्माण गरिएको ब्लक ‘इ’ र ब्लक ‘डी’ औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त देखिएको अध्ययन टोलीले निस्कर्ष निकालेको छ । सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) स्थापना गरिएको क्षेत्रमै ४ सय विगाह क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन सुरु गरिएको हो ।यसअघि पर्सा जिल्लाकै पर्सागढी नगरपालिकास्थित गुठी संस्थानको ६ सय बिगाह क्षेत्रफलको जग्गामा अध्ययन गरिए पनि त्यहाँ एकमुष्ट २ सय बिगाह मात्रै भेटिएको थियो । त्यसमा पनि अनाधिकृत वस्तीका कारणले औद्योगिक क्षेत्र स्थापनाका लागि चुनौती देखिएको इञ्जिनियर तिमिल्सिनाको भनाई छ ।वीरगञ्ज पथलैया औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरुले गरेको आग्रहपछि उद्योग मन्त्री रमेश रिजालकै निर्देशन र वीरगञ्ज उद्योग वाणिज्य संघको सक्रियतामा सिमरामा औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन शुरु भएको वीरगञ्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले बताउनुभयो । प्रारम्भिक अध्ययनपछि अध्ययन टोलीले वीरगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग छलफल पनि गरेको छ ।छलफलका क्रममा अध्ययन टोलीका इञ्जिनियर तिमिल्सिनाले सिमरा सेजको ब्लक ‘डी’ मा केही अनाधिकृत वस्ती पनि रहेको र केही खेतहरु पनि परेकोले केही समस्या हुने देखिएपनि ब्लक ‘इ’ मा भने कुनै समस्या नदेखिएको बताउनुभयो । वीरगञ्ज उद्योग वाणिज्य संघले संस्थागत रुपमा नै सक्रियता देखाएकोले र उद्योग मन्त्री रमेश रिजालको पनि चासो रहेकोले औद्योगिक क्षेत्र स्थापनाका लागि अध्ययन टोलीको प्राथामिकतामा राखेर प्रतिवेदन बुझाउने टोलीका अर्का सदस्य जयकृष्ण दुलालले बताउनुभयो ।नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष अशोक टेमानीले औद्योगिक क्षेत्र स्थापना हुने ठाउँबाट तराई मधेस काठमाण्डौं द्रूतमार्ग पनि नजिकै रहेको साथै अहिले रेलमार्गको अध्ययनका क्रममा पनि स्टेशनहरु सोही अनुसार निर्धारण गरिएकोले त्यसको आधारमा औद्योगिक क्षेत्र स्थापनको उपयुक्त स्थान हुनपर्नेमा जोड दिनुभयो । उहाँले औद्योगिक क्षेत्र स्थापना भए त्यसको आसपासमा नै अर्को आईसीडी (इनल्याण्ड कण्टेनर डिपो) सुक्खा बन्दरगाह र ट्रान्सपोर्ट नगरको पनि व्यवस्था गर्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले निजी क्षेत्रका नीतिगत एवम् संरचनागत समस्यामा सरकार गम्भीर नभएको बताउनुभयो । निजी क्षेत्रसँगको सहकार्य र समन्वय बिना समृद्धिको लक्ष्य हाँसिल गर्न नसकिने अग्रवालको भनाई छ । औद्योगिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन सुरु भएकोमा खुशी व्यक्त गर्दै उहाँले उद्योगी व्यवसायीलाई व्यवसाय र लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।छलफलमा संघका वरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतम, उपाध्यक्ष द्वय माधव राजपाल, मनोजकुमार दास, कोषाध्यक्ष शिवजीप्रसाद साह, सहसचिव निरज अग्रवालको साथै सङ्घका कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।