कलैया,दाइजोमा सुनको सिक्री नदिएको निहुँमा विवाह नै रद्द गर्ने बाराका एक जना बेहुलासहित ६ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा सोमवार राती मण्डपमा वैवाहिक कार्यक्रम चलिरहकै बेला सुनको सिक्री नपाएको निहुँमा बिहे रद्द भएको घोषणा गर्ने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ४ का बेहुला उमेश साहसहित ६ जना आफन्तलाई पर्सा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बेहुला साहसहित उनका बुवा बच्चालाल, दाजुहरु राकेश र मुकेश, भिनाजु आनन्दलाई नियन्त्रणमा लिएको जनाएको छ ।दाइँजोमा सुनको सिक्री नपाएपछि उमेश र वीरगञ्ज महानगरपालिका २४ रामगढवाका सुखल सहकी छोरी रमिता कुमारीको बिहे भाँडिएको हो । केटा पक्षले दाइजोमा नगद १२ लाख, मोटरसाइकल बापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक थान सुनको औंठी र हनुमानको माला लिइसकेर पनि विवाह कार्यक्रम चल्दैगर्दा सुनको सिक्री नपाएको निहुँमा बेलुलासहित आफन्तले राति २ बजे मण्डपबाट उठेर विवाह नगर्ने निर्णय सुनाएका थिए ।

सिक्री नपाएको निहुँमा बेहुला पक्ष मण्डपबाट उठेपछि रोक्ने क्रममा दुबै पक्षबीच विवाद भएको खबर पाएर पुगेको प्रहरीले राति नै बेहुलासहित ६ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय श्रीपुर वीरगञ्जका प्रहरी निरीक्षक धर्मजंग थिङले जानकारी दिनुभयो ।पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले केटी पक्ष जाहेरी लिएर नआएको बताउनुभएको छ । उहाँले केटी पक्षको जाहेरीपछि सोही बमोजिम अनुसन्धानअघि बढ्ने जानकारी दिनुभयो ।
उमेश वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कम्प्युटर अपरेटरको रुपमा कार्यरत छन् भने रमिता वीरगञ्जकै नारायणी अस्पतालको ल्याबमा कार्यरत ल्याब टेक्निसियन हुन् ।

Leave a Reply