वीरगन्ज,कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि रौतहट र पर्सा जिल्लामा जारी निषेधाज्ञा थप भएको छ । पर्सामा बैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरि १० दिनका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकले जेठ २० गतेसम्मका लागि जारी गरिएको निषेधाज्ञा जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दैनिक हुदै आएको कोरोनाको परीक्षणमा संक्रमितको संख्या कम हुदै गएको छ । बैशाख दोश्रो सातातिर संक्रमण दर बढ्दै गएर ७५ प्रतिशत सम्म पुगेको थियो । तर बैशाख १६ गते देखि निषेधाज्ञा लगाइएपछि जेठ पहिलो सातादेखि यता भने निरन्तर कम हुदै गएको संक्रमण दर अहिले १५ प्रतिशतमा झरेको छ । नारायणी अस्पतालको प्रयोगशालामा बुधबार साँझ पनि १६० जनाको स्वाब परीक्षण गर्दा १४ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण दर कम हुदै गएको भएपनि अझ कम गर्न जारी निषेधाज्ञा थप १० दिन अर्थात जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो । यसअघि पछिल्लो पटक जेठ १३ गतेबाट जेठ २० गते सम्मका लागि थपिएको निषेधाज्ञा अब जेठ ३० गतेसम्मका लागि लम्ब्याइएको हो । पर्सा जिल्लामा कोरोना संक्रमणको चेन ब्रेक गर्नमा निषेधाज्ञा उपयोगी देखिएकाले डिसिसिएमसीको बैठकले निषेधाज्ञा थप १० दिन अर्थात जेठ ३० गतेसम्मका लागि थप्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । पछिल्लो २ सातायता संक्रमण दर कम देखिनु सुधारको संकेत रहेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो । उहाँका अनुसार वीरगन्जका अस्पतालहरुमा पनि अहिले कोभिडका बिरामीको संख्या ६० प्रतिशतले घटेको छ । पर्सा जिल्लामा अहिले एक हजार भन्दा बढि सक्रिय संक्रमितहरु छन् । जारी निषेधाज्ञामा पनि विकास निर्माणका कामहरु नरोकिएको, उद्योगहरु संचालनमा कुनै रोक नलगाइएको र उपभोग्य वस्तुहरुको पनि सहज उपलब्ध हुने गरी व्यावस्था मिलाइएकोले संक्रमण दर अझ कम गर्न निषेधज्ञा जेठ ३० गतेसम्मका लागि थपिएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ ।

त्यसैगरी रौतटहमा भने जेठ २६ गतेसम्मको लागि निषेधाज्ञा थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को निर्णय अनुसार जिल्लामा जेठ २६ गतेसम्म निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको सूचनामा जेठ १९ गतेदेखि २६ गते राति १२ बजेसम्म जिल्लामा निषेधाज्ञा रहने उल्लेख छ । स्वास्थ्य, विद्युत, दूरसञ्चार, खानेपानी, दूध, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधि, खाद्यान्न, तरकारी आपूर्ति बाहेकका अन्य सबै निकाय र सेवालाई पनि निषेध गरिएको छ भने एम्बुलेन्स, शव वाहन, दमकल लगायत सवारी पास प्राप्त सवारी साधनलाई मात्र सञ्चालनको अनुमति दिइने प्रशासनले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here