वीरगञ्ज,वीरगञ्जको सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले चालु आ.ब २०८१-०८२ को १० महिनाको अवधिमा ४१ अर्ब १८ करोड ११ लाख रुपैयाँ राजस्व असुली गरेको छ ।पछिल्लो २ महिनामा अघिल्ला महिनाभन्दा पनि कम राजस्व सङ्कलन गरेपछि सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई चालु आर्थिक वर्षको राजस्व असुलीको लक्ष्य भेट्टाउन सकस देखिएको छ ।

वैशाख महिनामा लक्ष्यको ८४ दशमलव ७६ प्रतिशत मात्र राजस्व भन्सारले सङ्कलन गरेको छ । यस महिनामा ५ अर्ब १२ करोड ६५ लाख रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकोमा ४ अर्ब ३५ करोड रुपैयाँ मात्र राजस्व असुली भएको छ ।
त्यसैगरी चैत महिनामा यो भन्सारले लक्ष्यको ८४ दशमलव ८९ प्रतिशत मात्र राजस्व सङ्कलन गर्न सकेको थियो । चैतमा ५ अर्ब ३० करोड ४९ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकोमा ४ अर्ब ५० करोड ६९ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको थियो ।

समग्रमा चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा ४९ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ८३ दशमलव ६८ प्रतिशत अर्थात् ४१ अर्ब १८ करोड ११ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन भएको छ ।सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवालले भन्सारको राजस्व असुलीमा सबैभन्दा बढी योगदान दिने वस्तुहरूमा फलामजन्य वस्तु, मदिरा र कोइला रहेकोमा यी वस्तुको आयात नै घट्दो क्रममा रहेकाले त्यसले राजस्व असुलीमा प्रभाव पारेको बताउनुभयो ।

Leave a Reply