रौतहट– विद्युत प्राधिकरणले खानेपानीको ट्याङ्कीमा जडान गरेको विद्युत लाइन काटेपछि रौतहटको गुजरा नगरपालिकाका उपभोक्ताहरु मार्कामा परेका छन् ।गुजरा नगरपालिका वडा नम्बर ९ स्थित अमतवा भवानीपुरको पानी ट्यांकीको विद्युत लाइन काटिएपछि उपभोक्तालाई पानी वितरण गर्ने कार्य अवरुद्ध भएको छ । उपभोक्ता समितिले लामो समयदेखि खानेपानीको बक्यौता महसुल नबुझाएको भन्दै प्राधिकरणले लाइन काटिएको हो ।

खानेपानी समितिले नेपाल विद्युत् प्राधिकरणलाई करिब ६ लाखभन्दा रुपैया बक्यौता बुझाउन बाँकी रहेको बताइएको छ ।
बक्यौता महसुल तिर्न उपभोक्ता समितिले कुनै चासो नलिएको उपभोक्ताको आरोप छ । विगत ४ दिनदेखि धारामा पानी आउन छाडेपछि गाउँमा स्वच्छ पानीको हाहाकार भएको र उपभोक्ताहरुले परम्परागत रुपमा प्रयोग गर्दैआएको आर्सेनिकयुक्त चाँपा कलको पानी प्रयोग गर्न थालेका छन ।समितिले सो पानीट्यांकीबाट अमतवा, भवानीपुर, भंगहा, जयराजपुर, दयालपुर, पर्ती टोलका उपभोक्ताहरुको घरमा निजी धारा जडान गरेर पानी वितरण गर्दैआएको थियो । तर पानी ट्यांकीमा विद्युत आपूर्ति बन्द भएपछि उपभोक्ताको घरको धारामा पानी आउन बन्द भएको छ ।
खानेपानी समितिले जडान गरेको धारामा पानी नआउँदा उपभोक्ताहरु समस्यामा परेको स्थानीय उपभोक्ताहरुले बताएका छन ।

उपभोक्ताहरुले समितिको हिसाब अपारदर्शिता रहेको, खानेपानी र नगरपालिकाको स्वास्थ्य शाखामा एउटै कर्मचारीलाई काममा लगाएको, खानेपानीको मिटर रिडिङ्ग, बिल तथा रकम समयमा असुल गर्न नसकेको जस्ता गुनासो गरेका छन ।
उनीहरुले धाराको पानीबापत लाग्ने शुल्क महिनैपिच्छे बुझाउन तयार भए पनि कर्मचारीहरू नियमित रुपमा मिटर रिडिङ्ग गर्न र बिल काट्न नआएका कारण रकम बुझाउन नसकिएको पनि बताएका छन । खानेपानीका कर्मचारीहरूको चरम लापरबाहीले गाउँमा खानेपानीको समस्या उत्पन्न भएको उनीहरूको भनाई छ । यसै विषयमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष अनुठा धामीले समितिले यसअघि प्राधिकरणलाई महसुल स्वरुप २ लाख बुझाएको जानकारी गराउनुभयो । विद्युतको अझै अन्दाजी करिब ६ लाख महसुल बुझाउन बाँकी रहेकोले प्राधिकरणले लाइन काटेको उहाँले बताउनुभयो । छिट्टै लाइन जोड्न लगाएर उपभोक्ताको घरको धारामा पानी पुर्याउन प्रयास गरिरहेको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here