पुष्पराज खतिवडा

मनहर्वा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर– १८ माथिल्लो बडहर्वा निवासी शिक्षक आषिश राना शनिबार मोवाईलको टर्चलाईट बालेर खाना खाँदै हुनुहुन्थ्यो । उहाँँसँगै परिवारका अन्य सदस्यहरु पनि मोवाइलको मधुरो उज्यालोमा खाना खादै हुनुहुन्थ्यो । ‘खाना खाने बेलामा झ्याप्प बिजुली जान्छ, शिक्षक रानाले भन्नुभयो, उज्यालोको वैकल्पिक व्यवस्था छैन, मोवाइल बालेर नै भएपनि खाना त खानै पर्यो ।’

यस क्षेत्रमा केही दिनयता नियमित जसो दैनिक २÷३ घण्टा विजुली जाने गरेपछि स्थानीयले समस्या बेहोर्दै आएका हुन ।” प्रायजसो साँझ खाना पकाउने र खानेबेला विजुली जाने गरेको रानाले बताउनुभयो । उज्यालोको वैकल्पिक व्यवस्था पनि गर्न नसकिएकाले समस्या बेहोर्नु परेको शिक्षक रानाले सुनाउनुभयो ।

सोही गाउँकी अर्की गृहणी सुष्मा पराजुली पनि मोवाइल बालेर रोटी बनाउने पिठो मुछिरहनु भएको थियो । पछिल्लो समय विद्युत अनियमिता हुन थालेपछि सुष्मा प्राधिकरणका कर्मचारीसँग नराम्ररी रिसाउनु भएको रहेछ । ‘जतिबेला घरधन्दा गर्ने बेला भयो, लाईन काटेर मर्छ, सुष्माले भुतभुताउँदै भन्नुभयो, पैसा खर्च गरेर विजुली जडान गर्नुमात्रै भयो, खाचो परेको बेला प्राय कहिले पनि काम दिदैन ।’

उहाँले उज्यालो नहुदा बर्षाको समयमा घर बाहिर आँगन, पिढीमा निस्कदा पनि सर्प, बिक्षीको डरले ढुक्कसंग काम गर्न नपाइएको सुनाउनुभयो । वैकिल्पक व्यवस्था गर्न नसक्दा खाना पकाउन मोवाइलको भर पर्नुपरेको पराजुलीले बताउनुभयो । ‘कहिले त यो मोवाइलले पनि धान्दैन मानसिक तनाव हुन्छ, उहाँले बिजुली अनियमितताले गृहेणीले सबै भन्दा बढी समस्या बेहोर्नु परेको सुनाउनुभयो ।

यस्तै बिजुली नहुँदा बालबालिकाको पठनपाठन, स्याहारसुसार र पशु आहारको व्यवस्थापनमा पनि समस्या हुने गरेको अर्की स्थानीय सुनिता सापकोटाले बताउनुहुन्छ । ‘विद्युत अवरुद्ध भएपछि गर्मीले बालबालिकासँगै, वृद्धवृद्धा पनि समस्यामा पर्ने गरेका छन, उहाँले पनि भन्नुभयो घरगोठका चौपायाको आहारा, बिहान, बेलुकीको घरभान्छा गर्न असाध्यैं कठिनाइ भएको छ ।’

यता नेपाल विद्युत प्राधिकरण कलैया शाखाका प्रमुख हरदेव गुप्ताले विद्युत लाइन काटिने समस्या राष्ट्रिय नभइ स्थानीय भएको बताउनुभयो । ‘जिल्लामा निकै पुरानो विद्युतीय संरचना छ, उहाँले भन्नुभयो, त्यसैले समस्या आउँदा पहिचान र समाधानमा समय लाग्ने गर्दा कतियप स्थानमा विद्युत अवरुद्ध हुने गरेको छ ।’ प्राधिकरण प्रमुख गुप्ताले पुरानो संरचना नहटाएसम्म विद्युत बेलाबेलामा विद्युत लाइन काटिने समस्या कायम नै रहने बताउनुभयो । आवश्यक बजेट, पर्याप्त जनशक्ति र उपकरण फेर्ने विषयमा केन्द्रमा प्रकृया अघि बढेकाले केही समयपछि सँधैका लागि विद्युत अनियमिताको समस्या हटेर जाने उहाँको भनाइ छ ।

यस्तै विद्युत ईन्जीनियर बिकी महतोले पनि केही ठाउँको प्रशारण लाइनमा उत्पन्न समस्या पत्ता नलाग्दा धेरै स्थानमा विद्युत अनियमित हुने गरेको बताउनुभयो । बारा जिल्लाका कतिपय स्थानमा सामान्य पानी पर्दा पनि फिडर आफै डाउन हुने गरेको उहाँको भनाइ छ । विद्युत लाइनमा उत्पन्न समस्या तत्काल पहिचान नहुँदा कार्यालयका प्राविधिकसहित सर्वसाधारण उपभोक्ताले पनि दुःख पाउने गरेको उहाँको भनाइ थियो । ईन्जीनियर महत्तोले विद्युत अवरुद्ध हुन नदिन तत्काल सुचारु गर्न कार्यालयका प्राविधिक टोलीले दिनरात नभनी फिल्डमा खटेर काम गर्ने गरेका छन ।

बडहर्वा फिडर अन्तरगत कलैया उपमहानगरपालिका वडा नम्बर २४ को श्रीपुर आसपासको क्षेत्रमा प्राय विद्युत अवरुद्ध हुने समस्या अधिकर रहेको छ । जसको कारण जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७, १८ र कलैया उपमहानगरपालिका वडा नम्बर १६, २४,२६ तथा २७ का उपभोक्ताले विद्युत अवरुद्ध हुदा समस्या बेहोर्दै आएका छन । त्यसैगरी कोल्हबी नगरपालिकाका वडा नम्बर ८ र करैयामाई गाउँपालिका वडा नम्बर १ र २ लगायतका क्षेत्रमा केही वडामा विद्युत अवरुद्ध हुने समस्या अधिक रहेको इन्जीनियर महत्तोले जानकारी दिनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here