आर के चौधरी
सखुवाप्रसौनी,पर्साको सखुवाप्रसौनी गाउँपालिकामा शनिवार बिहान एउटा पाटे बाघ मृत अवस्थामा फेला परेको छ ।
गाउँपालिकाको वडा नम्बर २ रामभौरीमा एउटा बाघे मृत अवस्थामा भेटिएको हो । स्थानीय श्री दिपनारायण आर्दश विद्यालयबाट ३ सय मिटर पूर्व खेतमा सो बाघ मृत अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयले खाली खेतमा बाघ मृत अवस्थामा देखिएको खबर प्रहरीलाई गराएका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रंगपुर टाँडी, ईलाका प्रहरी कार्यालय एकटाङ्गको टोली र वन कार्यालयको टोली घटनास्थल पुगेको थियो ।मृत अवस्थामा भेटिएको बाघको बारेमा आवश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीले बताएको छ ।

यसैबीच पछिल्लो समय पर्साको राष्ट्रिय वन क्षेत्र आसपासको ग्रामीण भेगमा बाघको गतिविधि तीव्र बनेको छ । दुई महिनायता बस्तिमा लगातार जसो पस्दैआएको बाघको आक्रमणबाट यस क्षेत्रमा एक जनाको ज्यान गएको छ भने अर्का एकजना घाइते बनेका छन ।प्रहरीका अनुसार पटेर्वासुगौलीकै वडा नम्बर २ थरकटी गाउँ निवासी ३२ वर्षका मनोज महतो उराँवको गत पुष ८ गते साँझ बाघको आक्रमणमा परेर ज्यान गएको थियो । गाउँ नजिकै खुल्ला शौच गर्न गएको बेला बाघले आक्रमण गर्दा उहाँको ज्यान गएको हो । नेपाल प्रहरी र गाउँलेले खोजी गर्ने क्रममा जङ्गलदेखि ५० मिटर टाढा बाघले क्षतविक्षत पारेको अवस्थामा उहाँको शव फेला पारेका थिए । रातभरि बेपत्ता उहाँको अवस्थाबारे आफन्त र स्थानीयले बिहानपख मात्र जानकारी पाएका थिए ।

त्यसैगरी पछिल्लो पटक गत बिहीवार साँझ मात्रै पनि पटेर्वासुगौली गाउँपालिका वडा नं. २ लक्ष्मीपुर गाउँमा रङ्गपुर बजार जान लागेका २३ वर्षका सरोजप्रसाद अधिकारीलाई बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको टाउँको, हात तथा शरीरका विभिन्न अंगहरुमा गम्भीर चोट लागेको छ । गम्भीर घाइते उनलाई गाँउले, वन सुरक्षाकर्मी तथा नेपाल प्रहरीले उद्धार गरि उपचारका लागि तत्काल वीरगञ्जको नारायणी अस्पताल पु¥याएको ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामराजा केसरी बताँउनुहुन्छ ।

प्रहरीका अनुसार जिल्लाको पटेर्वासुगौली र सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासँग सीमा जोडिएको राष्ट्रिय वन र केही वडाका बस्तिमा दिनदहाडै बाघ पस्ने गरेको छ । राष्ट्रिय वनबाट आएको बाघ बस्तीमा पसेर मानवीय तथा पशुचौपायाहरुलाई क्षति गर्न थालेपछि स्थानीय भयभित बनेका छन ।डिभिजन वन कार्यालय पर्साका प्रमुख हेमन्त साह हिंसक जंगली जनावरको आतंकबाट स्थानीय बासिन्दा त्रसित बनेको बारेमा आफूहरुले जानकारी पाएको बताउनुभएको छ । कार्यालयमा बाघ व्यवस्थापनको उचित प्रबन्ध गर्ने साधनको अभावमा समस्या निरन्तर बढेको उहाँको भनाइ छ । तर समस्या समाधानबारे आफुहरुले सम्बन्धित निकायमा पत्राचार गरेको उहाँले जानकारी दिनुभयो ।पर्सा राष्ट्रिय निकुञ्ज आधाभारका वाडेन रामचन्द्र खतिवडाले मानव बस्तीमा बाघ आक्रमणको घटना वृद्धि हुनु गम्भीर विषय भएको बताउनुभएको छ । उहाँले पनि समस्याको समाधान खोज्ने कार्य भइरहेको जानकारी दिनुभयो ।

Leave a Reply