पुष्पराज खतिवडा
बारा,जिल्ला सदरमुकाम कलैयाको मुख्य स्थान मानिने भरत चोकमा निर्माण भएको युद्धप्रतीकसहितको पार्क बुधवार एक कार्यक्रमबीच नेपाली सेनाले कलैया उपमहानगरपालिकालाई हस्तान्तरण गरेको छ ।सेनाको कलैया उपमहानगरपालिका वडा नम्बर ७ ब्रम्हपुरीमा रहेको ज्वाला दल गणले नेपाल– अंग्रेज यूद्धमा लडेका स्थानीयको प्रतीमासहित स्थापना गरेको पार्कको स्वामित्व पालिकालाई सुम्पिएको हो । नेपाल– अंग्रजबीच सन् १८४१ देखि १८१६ सम्म भएको युद्धमा जिल्लाका स्थानीयले गरेको योगदनाको उच्च सम्मान गर्दै पार्क निर्माण गरिएको सेनाले जनाएको छ ।
कलैयाको मुटु मानिने भरत चोकमा रहेको पार्क जीर्ण भएपछि नेपाली सेनाले सो पार्कको पुनः निर्माण गरेको थियो । पार्कमा मधेसका सेनाको प्रतीकको रुपमा दुबै छेउमा भालासहित दुई जना मधेसी समूदायका व्यक्तिहरुको प्रतीमा राखिएको छ । प्रतीमाको बीचमा नेपालको नक्सा बनाइएको छ ।सेनाले आफ्नै श्रोतबाट निर्माण गरेको पार्कको मध्यपूर्वी पृतना हेडक्वाटर बर्दिवासका पृतनापती उपरथी कृष्णबहादुर जि.सी.ले पूजाआजासहित झण्डोत्तोलनपछि उद्धाटन गरेर कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साहलाई पार्क हस्तान्तरण गर्नुभएको हो ।
पार्क हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पृतनापती जि.सी.ले सेना र नागरिकबीचको सम्बन्धलाई निकट र प्रगाढ तुल्याउन सामाजिक कामहरुमा सेनाले देशभर स्थानीय तहसंग सहकार्य गर्दै आएको बताउनुभयो । ‘सेनाले राष्ट्र, राष्ट्रियताका सवालमा मोलाहिजा गर्दैन । नागरिक रक्षा, नागरिक र सेनाबीचको सुमधुर सम्बन्धमा सेना सँधै सकारात्मक रहदैआएको छ,’ उहाँले भन्नुभयो, नागरिक र सेना एकआपसमा मिलेर मात्रै नेपाली वीरताको गाथा बनेको हो ।’ पार्कको उद्धाटन गर्दै पृतनापती जिसीले नेपालका सबै वर्ग र समुदायले मिलेर देशको रक्षा गरेको र त्यसको जगेर्ना गर्ने दायित्व पनि सबैको भएको बताउनुभयो ।
उहाँले सन् १८१४ देखि १८१६ सम्म जिल्लाको बारागढीमा भएको ऐतिहासिक नेपाल–अंग्रेज युद्धमा स्थानीय जनताको स्वस्फूर्त सहभागिताको सम्झनाको प्रतीक बनाएर पालिकाको जिम्मा लगाइएको र पार्कको सुरक्षा र व्यवस्थापन पालिकाबाट नै गर्न उहाँले आग्रह गर्नुभयो ।कार्यक्रममा ज्वाला दलका गणका प्रमुख सेनानी गणपती कुमार खड्काले स्थानीयको उल्लेखनीय सहभागितासहित सकल दर्जाहरुको अथक प्रयासमा बारागढीमा भएको नेपाल अंग्रेज युद्धको सम्झना, सम्मान र स्थानीयको योगदानको कदर स्वरुप पार्क निर्माण भएको बताउनुभयो ।ज्वाला दल गणले भरत चोकमा आयोजना गरेको हस्तान्तरण कार्यक्रममा नेपाली सेनाको मध्यपूर्वी पृतनाका पृतनापती उपरथी जि.सी., कलैया उपमहानगरपालिकाका नगर प्रमुख बिनोद साह, उपप्रमुख रोशन प्रविण, बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङ्ग, नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुवेदी लगायतको सहभागिता रहेको थियो ।


















