पुष्पराज खतिवडा
मनहर्वा,बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दादुरा–रुबेला खोपको ५ दिने अभियान आइतवारबाट सञ्चालन गर्नेभएको छ ।दादुरा रुबेला खोप अभियानको प्रचारप्रसार गर्ने उद्देश्य शुक्रवार उपमहानगरका जनस्वास्थ्य प्रवद्र्धन शाखाले संचारकर्मीहरुसंग आयोजना गरेको अभिमुखीकरण गोष्ठीमा सो जानकारी दिइएको हो ।अभियानलाई प्रभावकारी तुल्याउन पालिकाले खोप लगाउन सबै घरमा निम्तो पत्र पठाउने जनाएको छ ।
अभियानका क्रममा ९ महिनादेखि १५ बर्ष उमेर समुहका बालबालिकाहरूलाई अनिवार्य रुपमा दादुरा–रुबेला खोप लगाईनेछ । रोगविरुद्ध प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले देशव्यापी कार्यक्रम अन्तर्गत जीतपुरसिमरामा पनि अभियान सञ्चालन गर्न लागिएको हो ।पत्रकार सम्मेलनमा जीतपुरसिमरा उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख रविकुमार भाष्करले १३ फागुनदेखि १७ गतेसम्म जीतपुरसिमराका २४ वटै वडामा खोप अभियान चल्ने जानकारी दिनुभयो । अभियान अन्तरगत नियमित प्रकृयामा खोप लगाउन छुटेका र लगाएका सबैलाई खोप लगाईने जनाइएको छ । ९ महिनामा पहिलो र १५ महिनामा दोस्रो पटक खोप लगाएका बालबालिकाका लागि बुस्टरडोजका रुपमा थप खोप लगाउन लागिएको हो ।
अभियानका क्रममा उल्लेखित उमेर समुहका बालबालिकाले लगाउनु पर्ने अन्य खोप छुटेको भए सो खोपहरु समेत लगाउने व्यवस्था मिलाईएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख भाष्करले जानकारी दिनुभयो । उहाँले खोप अभियानको अवधिमा जीतपुरसिमरामा विभिन्न खोप केन्द्रमार्फत करिब ४० हजार बालबालिकालाई खोप लगाईने बताउनुभयो । यसका लागि प्रत्येक वडामा ५ जनाका दरले स्वास्थ्यकर्मी परिचालन गरिएको छ । उपमहानगरमा ७५ जना स्वास्थ्यकर्मी र १३७ जना स्वयंसेविका परिचालन हुने उहाँको भनाई छ ।
उपमहानगरले वडा स्तरीय खोप समन्वय समितिले तोकेको चार स्थान र स्वास्थ्य केन्द्र गरी ५ दिन छुट्टाछुट्टै स्थानमा खोप अभियान संचालन गर्नेभएको हो । जीतपुरसिमरा उपमहानगरपालिकाकामा विद्यालय र बाहिरका गरी करिब ४० हजार बालबालिकालाई लक्षित गरेर अभियान चलाइन लागेको भास्करले बताउनुभयो । यसक्रममा महिला स्वयमसेविकामार्फत बालबालिकालाई खोप केन्द्रमा ल्याउन अनुरोधसहितको निमन्त्रणा कार्ड नगरभित्रका प्रतेक घरमा पु¥याइने छ ।
जिल्लाका विभिन्न पालिकाहरुमा चरणबद्ध रुपमा यो खोप लगाइदैछ । जीतपुरसिमराले भने पहिलो चरणमा नै खोप अभियान शुरु गर्न लागेको हो ।

















