सिमरा,जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ११ मा निजी जग्गाको स्वीकृति लिएर सरकारी जमिनबाट ठूलो परिमाणको माटो चोरी गर्दै उद्योगमा बिक्री गरिएको घटना सार्वजनिक भएको छ । निजी जग्गाबाट एक सय टिपर माटो उत्खनन गर्न नगरपालिकाबाट अनुमति पाएका स्थानीय महमद दिन मिया चुरिहारले सरकारी जग्गाबाट १ हजार टिपरभन्दा बढी माटो चोरी बिक्री गरेका हुन । हालको बजार मूल्यअनुसार उक्त माटोको मूल्य ५० लाखभन्दा बढी हुन आउछ ।उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय र कार्यालयका प्राविधिकलाई समेत झुक्याएर सरकारी जग्गाको माटो जीतपुरसिमरा वडा नम्बर ४ स्थित विशेष आर्थिक क्षेत्र (सेज) मा संचालित पशुपति सेरामिक्स उद्योगमा चोरी बिक्री गरेको घटना बाहिरिएको हो ।नम्बरी जग्गाबाट व्यवसायिक प्रयोजनको लागि भन्दै उपमहानगरपािलकाबाट अनुमति लिएर सरकारी जग्गाबाट माटो चोरी गरी बिक्री भएको घटना बाहिर आएपछि स्थानीय आक्रोशित भएका छन् । स्थानीयले जनप्रतिनिधिकै संरक्षण र निर्देशनमा माटो चोरी भएको भन्दै कारबाहीको माग गर्न थालेका छन् । माटो चोरी गरी बिक्री गर्ने काममा वडा नम्बर ११ का जनप्रतिनिधि र स्थानीय राजनीतिक दलका केही कार्यकर्ताहरुको संलग्नता रहेको स्थानीयको आरोप छ ।साविक फत्तेपुर गाविस वडा नम्बर ९ (हाल जीतपुरसिमरा वडा नम्बर ११ स्थित कित्ता नम्बर ३५ को पाँच बिगाह क्षेत्रफलको जग्गाबाट एक सय टिपर माटो व्यवसायिक बिक्रीका लागि चुरिहारले नगरपालिका कार्यालयबाट अनुमति लिएका थिए । तर उनले अनुमति पाएकोभन्दा फरक कित्ता नम्बर ४२ को १८ बिगाह जग्गामध्ये दुई बिगाह जग्गाबाट एक हजार टिपरभन्दा बढी माटो उत्खनन् गरी बिक्री गरेको पाइएको छ ।चुरिहारको माग बमोजिम वडा नम्बर ११ को कार्यालयले स्वीकृति प्रदानका लागि असोज ४ गते नगर कार्यपालिकाको कार्यालयलाई सिफारिस गरेको थियो । वडाको सिफारिस लिएर नेकपा माओवादी केन्द्रका नगर कमिटी अध्यक्ष प्रेम बराल उपमहानगरपालिकाको कार्यालय पुग्नुभएको थियो । सोही सिफारिस पत्रको आधारमा उपमहानगरपालिकाको कार्यालयले प्राविधिक मुल्यांकन समेत नगरी माटो बिक्रीका लागि स्वीकृति प्रदान गरेको थियो ।यस क्रममा स्थलगत अध्ययनको लागि उपमहानगरपालिकाबाट खटिएको प्राविधिक टोलीलाई समेत झुक्याइएको पाइएको छ । टोलीलाई वडाका जनप्रतिनिधिले कित्ता नंम्बर ३५ भन्दै हाल उत्खनन् गरिएको जग्गा कित्ता नम्बर ४२ को सरकारी जग्गा देखाएका थिए । सो जग्गा नगरपालिका मताहातको ऐलानी पर्ति हो ।वडा सदस्यसहितका जनप्रतिनिधिले देखाएको जग्गालाई अनुमति प्रदान गर्न सकिने भन्दै प्राविधिकको सिफारिसपछि उपमहानगरपालिकाले मियाका बुवा हसिना चुरिहारको नाममा असोज ५ गते माटो उत्खननको लागि स्वीकृति दिएको थियो । उपमहानगरपालिकाले ७० हजार राजश्व लिएर प्रदान गरेको स्वीकृति पत्रमा मधेस प्र.०२–०३–००१ ख ७६४७, मधेस प्र.०२–०३–००१ ख २५९६, लु २ ख ८६४२ नम्बरको तीन वटा टिपर, ना १ क ६५६७ नम्बरको एउटा एक्साभेटर र ३६०४६.०८ घनफिट अर्थात एक सय टिपर माटो उत्खनन् गर्नका लागि स्वीकृति प्रदान गरेको हो ।उता, स्वीकृत परिमाणभन्दा १०औं गुणा माटो उत्खनन हुँदा पनि वडाका जनप्रतिनिधिहरुले भने घटना बारे अनभिज्ञता जनाएका छन । नम्बरी जग्गालाई प्रदान गरेको स्वीकृतिको दुरुपयोग गरेर सरकारी जग्गाबाट माटो उत्खनन गरेर बिक्री गरेको घटना बाहिर आएपछि उपमहानगरपालिकाको प्राविधिक टोलीले सो क्षेत्रको पुनः अनुगमन गरेको छ । अनुगमनका क्रममा स्वीकृति लिएको भन्दा फरक स्थान र बढी परिमाणमा माटो उत्खनन् भएको पाइएको ईन्जिनियर सञ्जीव रुपाखेतीले बताउनुभयो । उहाँका अनुसार स्वीकृति लिइएको भन्दा करिब एक सय ५० मिटर पूर्वतर्फको सरकारी जग्गाबाट माटो उत्खनन् भएको छ । सो क्रममा माटो उत्खनन् गरिरहेको एउटा एक्साभेटरलाई समेत उपमहानगरपालिकाको अनुगमन टोलीले नियन्त्रणमा लिएको छ ।सरकारी जग्गाबाट गैह्कानुनी रुपमा उत्खनन् र बिक्री भएको पाइएपछि उपमहानगरपालिकाको कार्यालयले माटो खरिद गर्ने उद्योगसंग खरिद सम्बन्धि विवरण माग गरेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदराज फुयालले पशुपति सेरामिक्स उद्योगलाई पत्राचार गर्दै विवरण माग गर्नुभएको हो ।