पुष्पराज खतिवडा
बारा,मधेस प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री सरोजकुमार यादवले स्थानीय तहहरुलाई थप मजबुत बनाउन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।कलैया उपमहानगरपालिकाद्वारा शनिवार मन्त्री यादवको स्वागत तथा सम्मानमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेश सरकारबाट स्थानीय तहहरुलाई दिदैआइएको अनुदान बजेट बढाउदै लैजाने बताउनुभयो ।
आर्थिक २०८१-०८२ मा कलैया उपमहानगरपालिकालाई प्रदेश सरकारकोतर्फबाट १ करोड ५ लाख ससर्त अनुदान दिइनेसमेत उहाँले बताउनुभयो । प्रदेश सरकारको अनुदान पालिकाकै माग र योजनामा दिइने मन्त्री यादवले जानकारी दिनुभयो ।उहाँले ‘एक प्रदेश सभा निर्वाचन क्षेत्र, एक सडक र पुल’ योजना अन्तर्गत बाराको ८ वटा निर्वाचन क्षेत्रमा ८ वटा सडक र ८ वटा पुलहरु टेन्डरको प्रक्रियामा रहेको समेत जानकारी दिनुभयो ।
नगर प्रमुख विनोद साहको अध्यक्षतामा भएको कार्यक्रममा मन्त्री यादवलाई भव्य स्वागत तथा सम्मान गरिएको थियो । सम्मान कार्यक्रमपछि नगरप्रमुख साह नेतृत्वको टोलीले मन्त्री यादवलाई कलैयाको गौरवका योजनाहरु टाउन हल, कलैया बजार, रामजानकी मन्दिर, कृषि बजारको अनुगमन गराएको थियो ।नगरप्रमुख साहले यसअघिका सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले कलैयालाई बजेटमा पक्षपात गरेको जनाउँदै प्रदेश सरकारबाट कलैया बजार, कृषि बजार, निर्मानाधिन टाउन हलको बाँकी काम तथा खेल मैदानको विकाशका लागि आवश्यक बजेट छुट्याउन माग गर्नुभएको थियो । उहाँले कलैया शहरको सुरक्षा व्यवस्थालाई मजवुत बनाउन नगरभरि सिसिटिभी क्यामेरा जडानकालागि समेत आवश्यक बजेट माग गर्नुभएको थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु महमद समीर, रविन्द्रदास श्रेष्ठ, त्रिलोकी चौधरी, नेकपा एमाले बाराका अध्यक्ष अध्यानन्द पाण्डेय, कलैया उपमहानगरपालिकाकी उपप्रमुख रौशन प्रविन, कार्यालयका प्रमुख प्रशासकीय अधिकृत नाथु साह, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगर खेलकुद विकास समितिका संयोजक एम.समिउल्लाह तथा कर्मचारीहरुको सहभागिता रहेको थियो ।यसअघि मन्त्री यादव शनिवार बिहान कलैया– १८ मा आयोजित मदन भण्डारी फाउण्डेशनको रजत जयन्ती समारोहमासमेत सहभागी हुनुभएको थियो भने अपराहन्न उहाँले महागढीमाई नगरपालिकाको बरियारपुरस्थित नवनिर्मित बहुउद्देश्यीय विवाह मण्डपको उद्धाटन गर्नुभएको थियो ।



















