सिमरा,प्रादेशिक अस्पताल कलैयामा बुधवारदेखि डायलाईसिस उपचार सेवा शुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले डायलाईसिस सेवाको शुभारम्भ गर्नुभएको हो ।

मुख्यमन्त्रीले उद्घाटन गरेसंगै अब डायलाईसिसको उपचार आवश्यक पर्ने बिरामीले कलैया अस्पतालबाट सेवा लिन सक्नेछन् । डायलाईसिससंगै मुख्यमन्त्रीले ईन्डोस्कोपी कक्ष र नवजात शिशु विशेष हेरचाह कक्षको समेत उद्घाटन गर्नुभएको हो ।उद्घाटनका क्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. अजयकुमार गुप्ताले उपचार कक्षका विषयमा मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । डा. यादवका अनुसार दैनिक १५ जना डायलाईसिस सेवा दिन सकिने गरी सेवा प्रारम्भ भएको छ ।

कलैया अस्पताललाई स्तरोन्नति गर्दै उपचार सेवा प्रभावकारी बनाउने क्रममा आफूहरु लागिरहेको बताउँदै डा. यादवले सिटी स्क्यान र ईको मेसिनको सेवा थप गर्न आवश्यक रहेको बताउनुभयो । गृह जिल्लामा रहेको अस्पताललाई सेवा प्रारम्भ गर्ने क्रममा मुख्यमन्त्रीले सहज र प्रभावकारी स्वास्थ्य सेवाका लागि आफूले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उद्घाटन कार्यक्रममा बारा क्षेत्र नम्बर ३ का पूर्वसांसद रामबाबु यादव, संविधान सभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारस साह, कलैया अस्पताका अध्यक्ष प्रकाश चौगाईं, डा. मनोज गुप्तालगायतको उपस्थिति रहेको थियो ।

साभार तस्बिर

Leave a Reply