काठमाडौं । अमेरिकी डलर सस्तो दरमा साटिदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुरको चाँगुनारायण नगरपालिका–१ सरस्वतीखेल बस्ने २९ वर्षीय मोहनबहादुर तामाङ रहेका छन् ।

प्रहरीका अनुसार उनले गत चैत २३ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–४ स्थित एकान्त स्थानमा पीडितलाई बोलाएर अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै ५ लाख रुपैयाँ ठगी गरी फरार भएका थिए ।

घटनाको अनुसन्धानका क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई बुधबार भक्तपुरबाट पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानमा तामाङ र उनका साथीहरूले काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा सस्तो दरमा डलर साटिदिने प्रलोभन देखाएर एकान्त ठाउँमा बोलाई ठगी तथा लुटपाट गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

Leave a Reply