काठमाण्डौं,इङ्ग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । शनिवार राति भएको खेलमा सिटीले बर्नमाउथलाई ४–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा सिटीका इल्के गुन्डोगान, केभिन डी ब्रुएन र फिल फोडेनले एक÷एक गोल गरे । बर्नमाउथका जेफर्सन लेर्माले आत्मघाती गोल गरे । जितसँगै सिटीले नयाँ सिजनमा लगातार दोस्रो जित निकालेको छ । सिटीले २ खेलमा ६ अङ्क जोडेको छ । सिटी शीर्ष स्थानमा उक्लिएको छ ।
यस्तै आर्सनलले पनि लगातार दोस्रो जित निकालेको छ । लेस्टर सिटीलाई ४–२ गोलले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो। आर्सनलका गाब्रियल जिससले दुई गोल गरे । ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक÷एक गोल गरे । लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक÷एक गोल फर्काए । जितसँगै आर्सनलले २ खेलमा ६ अङ्क जोडेको छ । आर्सनल लिगको दोस्रो स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत नै साउथह्याम्पटन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन् । ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलह्यामले गोलरहित बराबरी खेलेका छन् । शनिवार भएको खेलमा एस्टन भिल्लाले एभर्टनलाई २–१ गोलले हराएको छ ।


















