कलैया,बारा प्रहरीले प्रतिबन्धित लागू औषध दुईजनालाई पक्राउ गरेको छ । कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटा चोकबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले उनीहरुलाई लागू औषध सहित पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा निजगढ नगरपालिका वडा नं. ६ योजना टोल बस्ने २९ वर्षीय हेमबहादुर थापा र सोही ठाउँका आशिष तामाङ रहेका छन् ।
वीरगञ्जबाट निजगढतर्फ जाँदै गरेको अवस्थामा उनीहरु सवार ना ५६ प ८७७१ नम्बरको पल्सर मोटरसाइकललाई शंका लागि प्रहरीले रोकेर जाँच गरेको थियो । सोही क्रममा लुकाइ छिपाइ लैजादै गरेको अवस्थामा लागुऔषध ट्याब्लेट र इन्जेक्सनसहित उनीहरु पक्राउ परेका बाराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विरेन्द्रराज गुरुङले जनाउनुभयो ।
उनीहरुको साथबाट डाइजेपाम ५६ एम्पुल, फेनारगन ५३ एम्पुल, नुरफिन ५३ एम्पुल र ट्रामानिल ५६ पत्ता ( ६५० पिस) बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बारा प्रहरी बताएको छ ।



















