गोकुल घोरसाइने
सिम्रौनगढ,सिम्रौनगढमा बुधवार मालपोत कार्यालयको उद्धाटन भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शसी श्रेष्ठले एक कार्यक्रमबीच सरकारले निर्णय गरेको ७ वर्षपछि कार्यालयको उद्धाटन गर्नुभएको हो ।
जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने सिम्रौनगढमा मालपोत तथा नापी कार्यालय स्थापना गर्न मन्त्रिपरिषदले ०७२ सालको असोज १४ गते निर्णय गरेको थियो । सिम्रौनगढमा मालपोत र नापी कार्यालय स्थापना गर्ने मन्त्रिपरिषदको निर्णय विरुद्ध सदरमुकाम कलैयाका लेखापढी व्यवसायी र अन्य व्यवसायीहरुले आन्दोलन गरेपछि सिम्रौनगढमा कार्यलय स्थापना गर्ने मन्त्रिपषिदको निर्णय कार्यान्वयनमा आउन सकेको थिएन । व्यवसायीहरुको विरोधका कारण कार्यालय संचालनको लागि सिम्रौनगढमा घर भाडामा लिएको अवस्थामा पनि कार्यालय भने संचालनमा आउन नसकेको हो । कार्यालय संचालन गर्न नसकेपनि सरकारले २ वर्षसम्म कार्यालयको घर भाडाबापत मासिक ३० हजार रुपैया भुक्तानी गरेको थियो । कलैयाका व्यवसायीहरुको विरोधका बाबजुद पनि मन्त्रिपरिषदले सोही मितिमा गरेको निर्णयअनुसार जिल्लाको सिमरामा भने २०७२ साल माघमा नै कार्यालय स्थापना गरेर संचालनमा आएको थियो । त्यतिबेला कार्यालय स्थापना गर्न माग गर्दै सिमरामा स्थानीयले आन्दोलन गरेका थिए ।
यसपटक पनि कार्यालय संचालनमा अवरोध उत्पन्न हुनसक्ने त्रासमा स्थानीयले गत शुक्रबार राति सुरक्षा घेराबीच सिम्रौनगढ नगरपालिकाको गाडीमा राखेर कलैया मालपोत कार्यालयबाट कार्यालयको स्रेस्ता लगायत आवश्यक फर्निचर, दराज, कम्प्युटरसहितका कागजातहरू ल्याएका थिए ।
सिम्रौनगढ नगरपालिका र स्थानीय बासिन्दाले पनि मन्त्रिपरिषदको निर्णय कार्यान्वयको लागि निरन्तर माग गर्दै आएका थिए । ‘लामो समयदेखि कार्यालय स्थापना गर्न माग गर्दै आएका थियौं, स्थानीय समाजसेबी रामेश्वरप्रसाद यादवले भन्नुभयो, सरकारले बल्ल जनताको आवाज सुनेको छ ।’ उहाँले कार्यालय स्थापना भएपछि जग्गा सम्बन्धि काम गर्न गाउँबाट २५ किलो मिटर टाढा धाएर सदरमुकाम कलैया धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ । कार्यालय उद्धाटनपछि गाउँबाट सेवा पाइने आशामा स्थानीय सर्वसाधारण सेवाग्राही खुसी बनेको उहाँको भनाइ छ ।
कार्यालय उद्धाटन गर्दै मन्त्री श्रेष्ठले जनताको घर दैलोबाट सेवा पुर्याउने उद्देश्यले कार्यलय संचालन ल्याइएको बताउनुभयो । उहाँ मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न यसअघि कसैले पनि चासो नदेखाएको अवस्थामा आफूले सिम्रौनगढमा कार्यालय संचालन गर्न पहल गरेको बताउनुभयो । उहाँले आफूले कुराले भन्दा काम गरेर देखाउने मन्त्री भएको पनि बताउनुभयो ।
कार्याक्रममा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलियाले संघीयताको मर्मअनुरुप सिम्रौनगढमा मालपोत कार्यालयको सेवा सुरु गरिएको बताउनुभयो । उहाँले सिम्रौनगढमा मालपोत कार्यालयको आफ्नै भवन निर्माण गरेर एकीकृत सेवा सुरु गर्न पनि मन्त्रालय तयार रहेको बताउनुभयो । ‘तपाईहरु भवनको लागि जमिन उपलब्ध गराउनुहोस, सचिव थपलियाले भन्नुभयो, मन्त्रालय सुविधा सम्पन्न कार्यालय भवन निर्माणको लागि आर्थिक सहयोग गर्न तयार छ ।’
कार्यक्रममा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले सिम्रौनगढ मालपोत कार्यालयमा भूमि व्यवस्थापन सूचना प्रणालीलगायत अन्य पूर्वाधारको काम पुरा भएको र केही दिनभित्र सेवा सुरु गरिने जानकारी दिनुभयो । उहाँले जग्गाधनीको श्रेस्ता केही दिनभित्र नै सिम्रौनगढमा ल्याइने पनि बताउनुभयो ।
कार्यक्रमा संविधान सभा सदस्य गोपाल ठाकुर, सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारलगायतले बोल्नुभएको थियो ।
मन्त्रालयका सचिव थपलियाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नरेन्द्र साह, पचरौता नगरपालिकाका प्रमुख जलान्धर सिंह, देवताल गाउँपालिकाका अध्यक्ष उदयचन्द्र यादवलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि र सर्वसाधारणको समेत उपस्थिति रहेको थियो ।
कार्यालयबाट सिम्रौनगढ नगरपालिकासहित जिल्लाको आदर्शकोतवाल, देवताल गाउँपालिका र पचरौता तथा महागढीमाई नगरपालिकाका ासिन्दाले सेवा प्राप्त गर्नेछन ।



















