हेटौडा,बारा र मकवानपुर जिल्लाको सीमा क्षेत्रमा पर्ने दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ जीर्णोद्धार पूरा भएको छ । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको उक्त सुरुङको केही समयअघि मात्र जीर्णोद्धारको काम सम्पन्न गरिएको हो ।करिब २२५ मिटर लामो सुरुङ मार्गलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेर जीर्णोद्धार कार्य गरेको थियो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर– १५ चरियामाई मन्दिर प्राङ्गणमा एसियाकै पहिलो सुरुङ मार्गको पुनः निर्माणको लागि बागमती प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार रुपैयाँ रकमको लागत अनुमान गरिएको थियो ।

२०७९ साल वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाइको सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिए पनि निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो ।ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माणको लागि राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र इकाई दर ठेक्का अनुसार कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँसँग सम्झौता गरेको थियो । सो सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण गरिएको छ ।

नेपालका प्रथम ग्राजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार सम्पन्न गरी यातायात पूर्वाधार निर्देशनालय हेटौँडालाई हस्तान्तरण गरिएको छ । गत असोजमा नै निर्माणको सम्पूर्ण काम सकिएको भए पनि सो सुरुङको केही प्राविधिक काम भने बाँकी रहेकाले हस्तान्तरणमा थप केही महिना लागेको निर्देशनालयका सूचना अधिकारी हरि ओझाले जानकारी दिनुभयो ।प्रदेश सरकारको योजना अनुसार सो सुरुङ नागरिकहरूलाई अवलोकनको लागि खुल्ला गर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि स्थानीय तह वा सञ्चालन समिति निर्माण गरी हस्तान्तरण गर्ने निर्देशनालयको तयारी रहेको छ । प्रदेश सरकारको योजना अनुसार सुरुङ मार्ग र सोको इतिहासका विषयमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि सुरुङ तयार अवस्थामा रहेको उहाँले बताउनुभयो ।

सुरुङ मार्ग भित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको २ प्रवेश द्वारमा सजावटको काम गरिएको छ ।
काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसिया कै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन किङडम अफ नेपाल’ नामक पुस्तकमा उल्लेख गरिएको छ । चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको सो पुस्तकमा उल्लेख गरिएको छ ।पूर्व–पश्चिम राजमार्ग निर्माण हुन अघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने गरिन्थ्यो । सो सुरुङ मार्ग काठमाडौँलाई तराईसंग जोड्ने प्रमुख नाकाको रूपमा रहेको थियो । सुरुङ मार्ग भएर भित्रिएका सामग्रीहरू भीमफेदीबाट मानिसले बोकेर काठमाडौँ पु¥याउने गरिन्थ्यो ।

चुरियामाई सुरुङ मार्गको डिजाइन इन्जिनियर कर्णेल थापाले १९७५ सालमा गर्नुभएको थियो । प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएका थिए । ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गको मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । सो समयमा चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो ।
एक दशकभन्दा बढी समयसम्म सो सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरेका थिए । पथलैया–हेटौँडा सडक निर्माण भएपछि भने यो सुरुङ सञ्चालनमा आउन छाडेको हो । चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ प्रयोगविहीन बनेको थियो ।

सुरुङ मार्गका दुवैतर्फको प्रवेश द्वार खुला रहे पनि सुरुङको बीच भाग धसिएपछि अवरुद्ध रहेको थियो । सुरुङको बीचमा करिब ४० मिटर धसिएको भाग हटाइ मर्मत सम्भारपछि हाल सुरुङबाट वारपार गर्न सकिने अवस्थामा ल्याइएको छ ।रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेलमा आउने र अमलेखगन्जबाट मकवानपुरको पूर्वसदरमुकाम भीमफेदीसम्म सडक मार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका– १५ स्थित चुरे पर्वत छिचोल्ने गरी सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको थियो ।

Leave a Reply