निजगढ,नगरमा पर्यटकहरुलाई आकर्षित गर्न निजगढका कछडिया, माझी र मगर समुदायका महिलाहरुले होमस्टे (घरवास) सञ्चालन गर्ने भएका छन ।होमस्टे सञ्चालन सम्बन्धि सीप प्रदान गर्न निजगढमा आयोजना गरिएको तालिमको समापन कार्यक्रमका सहभागीहरु महिलाहरुले होमस्टे सञ्चालन गर्न आफूहरु उत्साही बनेको बताए । ‘होमस्टे सञ्चालन गर्ने उत्साहा जागेको छ, तालिमकी सहभागी निजगढ ११ रतनपुरकी सृजना चौधरीले भन्नुभयो, यसको लागि नगरपालिका र स्थानीयको पनि साथ आवश्यक छ ।’ उहाँले तालिमबाट पर्यटकहरुको लागि उचित आवास, खाना, सरसफाइ लगायत पर्यटकमैत्री व्यवहारबारे जानकारी प्राप्त भएको बताउनुभयो ।

तालिमकी अर्की सहभागी निजगढ ४ की माया गुरोले यसअघि होमस्टेको बारेमा यसअघि कुनै जानकारी नभएपनि तालिमपछि गाउँमै होमस्टे सञ्चालन गर्ने आँट बढेको सुनाउनुभयो । उहाँले पनि सबैको सहयोग प्राप्त भयो भने अब गाउँमा होमस्टे सञ्चालन गर्न आफूहरु तयार रहेको बताउनुभयो ।होमस्टे सञ्चालन गर्न तालिमका सहभागी महिलाहरुले निजगढ ११ मा कछडिया सामुदायिक होमस्टे, निजगढ ४ मा कछडिया र नमूना माझीगाउँ होमस्टे तथा निजगढ ७ मा पनि समिति गठन गरेका छन । समितिमार्फत होमस्टे सञ्चालनको लागि आवश्यक पूर्वाधार तयार परिने उनीहरुको भनाई छ ।
तालिमका प्रशिक्षक मोहन गजुरेल र नकुल धितालले पनि तालिमका सहभागीहरुमा होमस्टे सञ्चालन गर्ने आकांक्षा तीव्र पाइएको बताएका छन । ‘महिलाहरुमा अत्यन्तै उत्साहा र लगनशीलता छ, प्रशिक्षक गजुरेलले भन्नुभयो, यसले होमस्टे सञ्चालन र त्यसको दीगोपनामा सुनिश्चिता दिन्छ ।’
तालिमका सहभागीहरुलाई विभिन्न परिकार तयार पार्ने, घरको सरसफाइ तथा पर्यटकमैत्री व्यवहारलगायत विषयमा ज्ञान र सीप दिइएको थियो ।निजगढ नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालन गरिएको ७ दिने तालिममा निजगढका आदिवासी कछडिया तथा माझी र मगर समूदायका ७० जना महिलाहरुको सहभागिता रहेको थियो ।निजगढ ४ स्थित बाघभैरव सामुदायिक वन समूहको सामुदायिक भवनमा भएको समापन कार्यक्रममा सहभागी अतिथिहरुलाई परम्पारगत भेषभुषामा आएका तालिमका सहभागीहरुले गीत, नृत्य प्रदर्शन गर्नुका साथै उनीहरुले तयार पारेको परिकार पनि खुवाइएको थियो ।
समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले नगरपालिकाले निजगढलाई मधेस प्रदेशको पर्यटकीय गन्तव्यको विकास गर्न होमस्टे सम्बन्धि तालिम सञ्चालन गरिएको र तालिममा सिकेका कुराहरु व्यवहारमा उतार्नुपर्नेमा जोड दिनुभयो । उहाँले तालिमका सहभागीहरुलाई नगरपालिका कार्यालयले आगामी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । तालिमपछि निजगढमा पर्यटकको गन्तव्यको रुपमा विकास गर्न मद्दत पुग्ने उहाँको भनाई थियो ।तालिम समापन कार्यक्रममा निजगढ नगर उपप्रमुख सोममाया थिङ्ग, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडा अध्यक्षहरु विशन सापकोटा, सहइया गुरो, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल स्याङ्गतानलगायतको उपस्थिति रहेको थियो ।


















