निजगढ,चौतारा युवा क्लब निजगढ ७ को आयोजनामा सुरु भएको प्रथम निजगढ नगरपालिका स्तरीय महिला फुटबल प्रतियोगिताको आइतवार भएको खेलमा फ्याफुल्ला क्लब डम्मरपुरलाई सडन डेथमा हराउदै निजगढ सिटी क्लब निजगढ ५ विजयी बनेको छ ।
निर्धारित समयमा दुबै टोलीले १÷१ गोलको बराबरी खेलपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । फ्याफुल्लाले लिएको सुरुवाति अग्रता जोगाउन नसक्दा पराजय बेहोर्नु परेको हो । मध्यान्तरअघिको १५ औं मिनेटमा जुना रुम्बाले गोल गर्दै फ्याफुल्लाललाई अग्रता दिलाएकी थिइन । मध्यान्तरअघिकै २२ औं मिनेटमा निजगढ सिटीको लागि सविता बलले फ्रि किकमार्फत गोल गर्दै बराबरमा पुर्एपछि निर्धारित समय बराबरीमा टुङ्गिएको र खेल टाइब्रकरमा धकेलिएको थियो ।
टाइब्रेकरमा पनि दुबै टोलीको ४,४ गोल भएपछि सडन डेथबाट निजगढ लिइएको थियो । खेलमा ‘लेडी पावर आफ म्याच’ को उपाधि फ्याफुल्लाकी दिक्षा मोक्तानले हात पारिन । मोक्तानलाई स्थानीय समाजसेवी खडकबहादुर पुलामीले ट्रफी प्रदान गर्नुभएको थियो ।
सोमवारको खेलको खेल निजगढ नगरपालिका ११ रतनपुर र वडा नम्बर ६ को नमोबुद्ध क्लबबीच हुने छ ।
शनिवार भएको उद्धाटन खेलमा निजगढ नगरपालिका वडा नम्बर १२ रामथलीको एसवाइसी फुटबल क्लब निजगढ ९ को एनएफसीलाई १,० ले हराउदै विजयी बनेको थियो । एनएफसीको लागि जर्सी नम्बर १० की निश्चल स्याङ्गतानले मध्यान्तरपछिको १५ औं मिनेटमा निर्णायक गोल गर्नुभएको थियो । मध्यान्तरअघि दवावमा एसवाइसीलाई दवावमा राख्न सफल देखिएको एनएफसीले गोल गर्ने दर्जनौ अवसर गुमाउदा पराजय बेहोर्नु परेको हो । खेलको ‘लेडी पावर आफ म्याच’ को उपाधि एनएफसीकी दिलमाया घिसिमङ्गले हात पारिन । स्थानीय समाजसेवी खडकबहादुर पुलामीले उपलब्ध गराउनु भएको ‘लेडी पावर आफ म्याच’ कप उपप्रमुख लामिछानेले हस्तान्तरण गर्नु भएको थियो । हाम्रो गोल महिला हिंसा विरुद्धको बोल भन्ने नारका साथ आयोजना भइरहेको सो प्रतियोगिताका निजगढ नगरपलिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेबी लामिछानेले उद्धाटन गर्नु भएको थियो । प्रमुख खनालले पास दिएको फुटबल उपप्रमुख लामिछानेले पोष्टमा प्रहार गरेर प्रतियोगिताको उद्धाटन गरिएको हो । प्रतियोगितामा निजगढ नगरपाकिलाका विभिन्न वडाका ७ वटा महिला फुटबल टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा पहिलो हुने टोलीले ट्रफी सहित ३५ हजार नगद र दोस्रो हुनेले २५ हजार पुरस्कार प्राप्त गर्ने छन । उद्धाटन कार्यक्रममा प्रमुख खनाल, उपप्रमुख लामिछाने र वडा अध्यक्ष रामजी बजगाईले महिला फुटबल प्रतियोगिताको महत्व बारेमा बोल्नु भएको थियो । कार्यक्रम संचालन सुमित्रा लामाले गर्नु भएको थियो ।