नरेश गुप्ता

बरियारपुर,जिल्ला प्रशासन कार्यलय बाराले इजाजत लिएर राखिएका हतियार चैत्र मसान्तभित्र बुझाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्थानीय चुनावमा शान्ति सुरक्षाको अवस्था सुदृढ पार्न हतियार बुझाउन हतियारधनीसंग अनुरोध गरेको हो ।

स्थानीय तहको निर्वाचनलाई शान्तिपुर्ण, भयरहित, भरपर्दो एंव बिश्वसनीय बनाउन प्रशासनले आगामी चैत्र ३० गतेसम्म आफ्नो नजिकको इलाका प्रहरी कार्यालय समक्ष हतियार बुझाउन हतियारधनीसंग आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय बाराको तथ्यांक अनुसार जिल्लामा दर्ता भएका हातहतियार मध्ये १ सय ८० जनाले मात्र हातहतियार नवीकरण गरेका छन । जिल्लाका विभिन्न स्थानीय तहमा २ सय ८६ जनाले इजाजत लिएर घरमा हातहतियार राखेको जिल्ला प्रशासन कार्यालयका रत्नबहादुर स्याङ्ग्पाले जानकारी दिनुभयो ।

कार्यालयले एक साताअघि हतियार बुझाउन आग्रह गरेपछि अहिलेसम्म निजगढ र जीतपुरसिमरा उपमहानगरपालिकाबाट ५ जनाले मात्र प्रहरी कार्यालयमा हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिनुभयो ।

दर्ता नगरी अबैध रुपमा राखिएका हातहतियार फेला परेमा र इजाजत लिएर राखिएका हतियार पनि तोकिएको समयभित्र नबुझाए कारबाही गरिने प्रहरी प्रवक्ता थापाले जानकारी दिनुभयो । समय सीमाभित्र बुझाएमा त्यस्ता हतियार निर्वाचनपछि फिर्ता हुने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here