निजगढ,निजगढका नगर प्रमुख सुरथ पुरीले वन र वातावरण क्षेत्रको संरक्षण र संवद्र्धन गर्न नगरकार्यपालिका कार्यालयमा एकजना वन अधिकृत भर्ना गरिने जानकारी दिनुभएको छ ।निजगढ ७ स्थित जनज्योति सामुदायिक वन उपभोक्त समितिको शनिवार भएको १३औं वार्षिक साधारण सभामा बोल्दै नगर प्रमुख पुरीले सो कुराको जानकारी दिनुभएको हो । नगर प्रमुख पुरीले वन क्षेत्रको विकासको लागि काम गर्न प्राविधिक जनशक्तिको आवश्यकता पर्ने र सोको लागि एक जना अधिकृत स्तरको छैठौं तहको प्राविधिक कर्मचारी भर्ना गर्न लागिएको बताउनुभयो

‘कर्मचारी भर्नाको लागि भ्याकेन्सी भइसकेको छ, उहाँले भन्नुभयो, अब परीक्षा लिनमात्रै बाँकी छ ।’ वन प्राविधिक नियुक्ति गरेपछि नगर क्षेत्रभित्र रहेका सबै सामुदायिक वनको संस्थागत विकास एवंम वन तथा वातावरण क्षेत्रको विकासको लागि कार्य गर्न सहज हुने पनि बताउनुभयो । उहाँले प्राविधिक कर्मचारीसहित नगरपालिकाले छुट्टै शाखा खोलेर वन र वातावरण संरक्षणको लागि काम गर्ने तयारी गरेको पनि बताउनुभयो ।देशको विकासको लागि वन संरक्षण पनि अपरिहार्य भएको बताउनुभयो । ‘समाजको समग्र विकासको लागि भौतिक पूर्वाधारहरुको मात्रै विकास गरेर पुग्दैन, नगर प्रमुख पुरीले भन्नुभयो, वन र वातावरणको संरक्षण र विकास बिना देश र जनताले सुख र सम्बृद्धि हासिल गर्नसक्दैनन ।’

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ केन्द्रीय सदस्य दुर्गा कोइराला, जिल्ला अध्यक्ष रामजी बजगाई, निजगढ नगर अध्यक्ष कुशबहादुर थापा, डिभिजन वन कार्यालय बाराका अधिकृत जवाहर लाल कुर्मी, निजगढ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष टेकबहादुर लामा, डिभिजन वन कार्यालय निजगढका रेञ्जर निरज पोखरेल, निजगढ नगरपालिकाकी पूर्वउपप्रमुख लिलादेबी लामिछानेलगायतले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्य दिनुभएको थियो ।सभाले अध्यक्ष खडगबहादुर मोक्तानले प्रस्तुत गरेको बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष भवानी श्रेष्ठले पेस गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ । वन समुहका अध्यक्ष मोक्तानको सभापतित्वमा भएको सो कार्यक्रममा समुहका सदस्य मुकुन्दप्रसाद पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने लेखा समितिका संयोजक हरिप्रसाद पण्डितले समितिको राय तथा सुझाव सहित आर्थिक वर्ष २०८०-०८१ को अनुमानित आय व्याय विवरण प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply