निजगढ,नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई÷मधेस द्रुतमार्गको बारा जिल्ला तर्फको काम तीव्र गतिमा अगाडि बढाएको छ ।सेनाले द्रुतमार्ग आयोजनाको बारातर्फको ८ दशमलव ५ किलोमिटरमा बाटो विस्तारको काममा तीव्रता दिएको हो ।
१६ मध्ये १५ वटा बक्स कल्भट निर्माणको काम सम्पन्न भइसकेको छ भने सडक पूर्वाधार निर्माणको क्रममा मानिस र वन्यजन्तुहरूलाई आवतजावत गर्न ३ वटा अन्डर पास र ओभर पास पुल निर्माण भइसकेको छ ।यसै आयोजना अन्तर्गत निजगढको बकैया खोलास्थित मोहरीमा पुल निर्माणको काम पनि धमाधम भइरहेको छ । द्रुतमार्गको ७२ दशमलव ५ किलोमिटर मध्ये बाराबाहेक मकवानपुरमा ५५ किलोमिटर र ललितपुरमा ८ दशमलव ५ किलोमिटर दुरी रहेको छ । यो तराईलाई काठमाडौँसँग जोड्ने सबैभन्दा छोटो दुरीको मार्ग हो ।
निजगढलाई जिरो प्वइन्ट मानेर आयोजनाको जिम्मा लिएको नेपाली सेनाले काम गर्दैआएको हो ।शुरुमा २०८१ वैशाखसम्म निर्माण सम्पन्न गरेर मङ्सिरसम्म नेपाल सरकारलाई हस्तान्तरण गर्ने भनिएको सो आयोजना कोभिड– १९ लगायत विविध कारणले समयावधि थप गरेर २०८३ चैतसम्म पुर्याएको छ । सो आयोजना निर्माणका लागि सुरुमा १ अर्ब ७४ करोड लागतमा भएपनि पछि यसको लागत ४१ करोड थप गरेर २ खर्ब १३ अर्ब पु¥याइएको छ ।
ललितपुरको खोकनालाई जिरो प्वइन्ट मानेर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ०७४ जेठ १४ गते निजगढमा यो मार्गको शिलान्यास गर्नुभएको थियो ।
चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निमार्णको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । द्रुतमार्ग निर्माण सम्पन्न भएपछि निजगढबाट काठमाडौँसम्म पुग्न १ घण्टा २० मिनेटमा लाग्ने आयोजना कार्यालयले जनाएको छ ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले द्रुतमार्गको कुल लम्बाई करिब ७१ किलोमिटर रहेको, सुरुङ्गमार्ग १० किलोमिटर, ८९ वटा पुलहरूको लम्बाई १२ दशमलव ८८५ किलोमिटर रहेको जनाउनुभएको छ । उहाँले सुरुङ्गमार्ग तथा पुल बाहेक सडकको लम्बाई ४८ दशमलव ०३७ किलोमिटर रहेको बताउनुभयो । द्रुतमार्ग निर्माणको लागि हाल १ हजार ४२३ जना नेपाली र ३५२ जना विदेशी कामदार कार्यरत रहेका छन् ।
निजगढदेखि ललितपुरको खोकनासम्मको करिब ७१ किलोमिटर भूभागलाई ११ वटा प्याकेजमा काम भइरहेको नेपाली सेनाले जनाएको छ । तोकिएको समयभित्र नेपाली सेनाले द्रुतमार्ग सम्पन्न गर्न नसक्ने भएपछि २ पटक म्याद थप गरिसकेको छ । द्रुतमार्गमा प्रतिघण्टा ८० देखि सय किलोमिटरको गतिले ठुला सवारी साधन गुड्न सक्नेछन् । ७१ किलोमिटर दुरीमा निजगढ, मकवानपुर र ललितपुरमा गरी ३ वटा प्वइन्टमा ट्रोल हाउस निर्माण हुने जनाइएको छ ।