सरकारी सेवा घरघरमा पुर्याउने अभियानअन्तर्गत मकवानपुरमा पहिलोपटक हुलाक कार्यालयमार्फत नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्याउन थालिएको छ। जिल्ला हुलाक कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१, चौकीटोलकी लक्ष्मी थापा मगरलाई घरमै सिमकार्ड उपलब्ध गराएर सेवा सुरु गरेको हो।
जिल्ला हुलाक कार्यालयका प्रमुख हुलाक अधिकृत कपिल पाण्डेका अनुसार थापा मकवानपुरमा हुलाकमार्फत सिमकार्ड प्राप्त गर्ने पहिलो सेवाग्राही हुन्।
नयाँ व्यवस्थाअनुसार सेवाग्राहीले नेपाल टेलिकमको सिमकार्डबापत ९० रुपैयाँ र हुलाक सेवाशुल्क ७० रुपैयाँ गरी कुल १६० रुपैयाँ भुक्तानी गरेर घरमै सिमकार्ड प्राप्त गर्न सक्नेछन्।
हुलाकका कर्मचारी घरमै आएर सिमकार्ड उपलब्ध गराएपछि सेवाग्राही थापा खुसी भएकी छन्। “मलाई त पत्यारै लागेको थिएन, घरमै सिमकार्ड आइपुग्यो। वर्तमान सरकारले बोलेको कुरा व्यवहारमा पनि देखियो, खुसी लाग्यो,” उनले भनिन्।
जिल्ला हुलाक कार्यालय मकवानपुरले यसअघि नै सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सञ्चालन गर्दै आएको छ। गत आर्थिक वर्ष २०८२र८३ मा मकवानपुरका १९८ जना सेवाग्राहीले हुलाकमार्फत घरमै राहदानी प्राप्त गरेका थिए।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भने ११ थान राहदानी घरमै पुर्याइएको कार्यालयले जनाएको छ। गत वैशाख २ गतेदेखि सुरु भएको राहदानी वितरण सेवाअन्तर्गत वैशाखमा ११७, जेठमा ३६ र असारमा ४५ थान राहदानी वितरण गरिएको थियो।
चालु आर्थिक वर्षको साउनमा दुई, भदौमा तीन र असोजमा छ थान राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ। राहदानी घरमै प्राप्त गर्न सेवाग्राहीले जिल्ला प्रशासन कार्यालयमा आवेदन दिने क्रममा ५५ रुपैयाँ अतिरिक्त शुल्क बुझाउनुपर्ने व्यवस्था छ।
प्रमुख हुलाक अधिकृत पाण्डेका अनुसार हुलाकमार्फत राहदानी लिने सेवाग्राहीको सङ्ख्या पछिल्लो समय घटेको छ। राहदानी विभागबाट जिल्ला प्रशासन कार्यालयमा आइपुगेका राहदानी हुलाक कार्यालयमार्फत सम्बन्धित सेवाग्राहीको घरमा पुर्याउने गरिएको छ।
“छिटो चाहिने सेवाग्राहीले प्रशासन कार्यालयबाटै राहदानी लिनुहुन्छ,” उनले भने।
हुलाकमार्फत राहदानी वितरण सेवा विशेषगरी टाढा र विकट क्षेत्रका सेवाग्राहीका लागि उपयोगी बनेको छ। भीमफेदी, थाहा नगरपालिका, बकैया, बागमती, राक्सिराङ, कैलाश, मनहरी र इन्द्रसरोवरका साथै हेटौँडाका सेवाग्राहीले यो सेवा लिएका छन्।
कार्यालयका अनुसार सबैभन्दा बढी सेवाग्राही हेटौँडा र थाहा नगरपालिकाका रहेका छन्।
जिल्ला हुलाक कार्यालयले हेटौँडाको औद्योगिक क्षेत्र र हटिया हुलाक काउन्टरसहित जिल्लाका नौ स्थानीय तहबाट सेवा प्रदान गर्दै आएको छ। विदेशबाट हुलाकमार्फत आएका सामग्रीसमेत सेवाग्राहीको घरमै पुर्याउने गरिएको छ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कार्यालयले १३ वटा पार्सल घरमै पुर्याएको जनाएको छ।
जिल्ला हुलाक कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा टिकट बिक्री, चिठीपत्र दर्ता तथा अन्य सेवाबाट कुल ९ लाख २८ हजार ७४५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
कार्यालयका अनुसार टिकट बिक्रीबाट ६ लाख रुपैयाँ, चिठीपत्र दर्ताबाट ३ लाख २६ हजार १५ रुपैयाँ र अन्य सेवाबाट २ हजार ७३० रुपैयाँ राजस्व सङ्कलन भएको हो।
नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी सय कार्यसूचीअन्तर्गत ‘सरकारी सेवा घरघर’ अभियान अघि बढाइएको हो।
कार्यसूचीको २७औँ बुँदामा हुलाक सेवालाई आधुनिकीकरण गरी ‘गभर्नमेन्ट कुरियर सर्भिस’का रूपमा विकास गर्ने तथा राहदानी, नागरिकताको प्रतिलिपि, सवारीचालक अनुमतिपत्रलगायत सरकारी कागजात र सामग्री घरमै पुर्याउने व्यवस्था लागू गर्ने उल्लेख छ।
नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा उपलब्ध गराउँदै सरकारप्रति विश्वास अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको अभियानअन्तर्गत मकवानपुरमा राहदानीसँगै सिमकार्ड घरमै पुर्याउने सेवा सुरु गरिएको जिल्ला हुलाक कार्यालयले जनाएको छ।















