सिमरा,पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको दुधौरा खोलाको डाइभर्सनमा जडान गरिएको बेलिब्रिज कमजोर हुँदै गएपछि दुर्घटना जोखिम बढेको छ । बेलिब्रिजमा जडान भएका कतिपय नटबोल्ट खुस्किएको र सवारीसाधन गुड्ने केही फलामे पाताहरूमा समेत प्वाल परेर भाच्चिने अवस्थामा पुगेका छन ।
दुधौराको निर्माणाधिन पुल निर्माणमा निर्माण कम्पनीले ढिलासुस्ति गरेपछि सडक विभागको पुुल सेक्टर कार्यालयले उपलब्ध गराएको बेलिब्रिजबाट लामो समयदेखि सवारी संचालन हुदैआएको छ । ठेकेदार कम्पनीमहादेव-खिम्ती-हीराचन जेभी काठमाडौंले तीन वर्षभित्र काम दुधौरा पुल निर्माणको काम सम्पन्न गर्नेगरी ठेक्का सकार गरेको थियो ।
ठेकेदार कम्पनीको लापरवाहीका कारण २०७७ सालमा निर्माण सम्पन्न भइसक्नुपर्ने पुल अहिलेसम्म पनि पूरा भएको छैन । तोकिएको समयभित्र काम सम्पन्न नहुने देखेपछि निर्माण कम्पनीलाई अन्तिमपटक २०८१ साउन मसान्तसम्मको लागि म्याद बढाएको थियो । तर सो अवधिमा पनि कार्य सम्पन्न नभएपछि सो अवधि लम्बाएर आगामी मङ्सिर मसान्तसम्म पु¥याएको पुल सेक्टर काठमाडौंका इन्जिनीयर नितेश झाले जानकारी दिनुभयो ।ठेकेदार कम्पनीले चार लेन, दुई स्पान, ९० मिटर लम्बाइको उक्त पुल निर्माण गर्न मूल्य अभिवृद्धि करबाहेक १५ करोड २२ लाखमा ठेक्का सकार गरेको पुल विभाग महाशाखा काठमाडौंले जनाएको छ ।


















