निजगढ,पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले सम्पन्न कामको रकम भुक्तानीको लागि सरकारसंग पहल गरिदिन सार्वजनिक अपील गरेको छ ।ठेकेदार कम्पनी महादेव÷खिम्ती÷हीराचन जेभी काठमाडौंले निर्माणस्थलमा होडिङ्ग बोर्डमा सूचना लेखेर निर्माण पुरा भएको कामको भुक्तानी दिलाउने काममा पहल गरिदिन सरोकारवालाहरुसंग आग्रह गरेको हो । सूचनामा भनिएको छ– ‘यस पुल निर्माण कार्य सम्पन्न भइसकेको बिलको भुक्तानी बजेट अभावको कारण प्राप्त हुन नसकेता पनि यस जे.भी.ले निरन्तर र नियमित निर्माण कार्य गरिहेकाले सम्बन्धित सरोकारवाला पक्षहरुलाई चाँडोभन्दा चाँडो कार्य सम्पन्न भुक्तानीको लागि पहल गरिदिनु हुन अनुरोध गर्दछौँ ।’

समयमै भुक्तानी नपाएको कारण देखाउदै कम्पनीले हाल निर्माणको कामसमेत रोकेको छ । ठेकेदार कम्पनीका सञ्चालक रवि सिंहले भुक्तानी नपाएसम्म काम अगाडि बढाउन नसक्ने जनाउनुभएको हो ।‘हामी धेरै समस्यामा छौँ, अहिले काम नगरौँ भने बर्खा सुरु भएपछि काम गर्न सकिँदैन, काम गरौँ भने मजदुरहरुलाई दैनिक ज्यालादारी र रासनपानीका लागि दिने पैसा छैन,’ सिंहले भन्नुभयो, ‘यस वर्ष पुलको काम गर्न बजेट पनि छुट्याइएको छैन ।’निर्माण शुरु भएको ५ वर्ष बितिसक्दा पनि पुल अझै अधुरो छ । संझौताअनुसार ३ वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्म ५६ प्रतिशतमात्रै काम पूरा भएको हो ।

सञ्चालक सिंहले सरकारले समयमै भुक्तानी गरे चालु आर्थिक वर्षमै पुलबाट आवतजावत मात्रै गर्नसक्ने गरी काम सम्पन्न गर्ने बताउनुभएको छ ।पुल निर्माणका लागि संघीय सरकार, सडक विभाग पुल महाशाखाले पहुँचमार्ग र दुधौरा खोला तटबन्ध सहित १५ करोड १२ लाख बजेट विनियोजन गरेको छ । जसमा पुल निर्माणका लागिमात्रै १० करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।

ठेकेदार कम्पनीले गत आर्थिक वर्षसम्म सम्पन्न गरेको ५६ प्रतिशत काममध्ये ५० प्रतिशत कामको अर्थात् करिव ५ करोड भुक्तानी लिइसकेको छ भने बाँकी रकम भुक्तानीका लागि सहयोग गरिदिन निर्माण क्षेत्रमै सार्वजनिक सूचना टाँस गरेको हो ।
ठेकेदार कम्पनीका इन्जिनियर अजय झाले आर्थिक वर्ष २०७४-२०७५ मा ठेक्का सम्झौता भएर पनि सडक विभागले समयमै बेलिबिज्र नबनाइदिएका कारण ३ वर्षसम्म काम सुरु गर्न नसकेको बताउनुभयो ।२०७९-०८० भित्र पुल निर्माणको सम्पूर्ण काम सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । निर्धारित समयभित्र निर्माण सम्पन्न हुन नसकेपछि आगामी असार मसान्तसम्म म्याद थप गरिएको छ ।साविक पुलको पिलर दुई पटक भासिएपछि सडकको चौडाइसंगै दुई स्पानको ९० मिटर लम्बाइको पुल निर्माण गर्न पुरानो पुललाई पूर्णरूपमा भत्काएर नयाँ पुलको निर्माणको लागि ठेक्का सम्झौता भएको थियो । तर पुल निर्माणमा हुदैआएको ढिलासुस्तिले सो क्षेत्र भएर आवतजावत गर्ने सवारी र ढुवानीका साधनहरु समस्यामा पर्ने गरेका छन ।

Leave a Reply