रौतहट,नेकपा माओवादी केन्द्र त्याग गरेर नेकपा एमाले प्रवेश गरेका दुई जना मेयरलाई नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमाले प्रवेश गरेका रौतहटको मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कामकाज गर्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।

न्यायाधीश कुमार चुडालको एकल इजलासले निवेदकहरूले राजीनामा नदिएको, अर्को दलको सदस्यता नलिएको तथा अर्को दल गठन गरेको यकिन अवस्था नदेखिएको भन्दै उनीहरूलाई मेयरका रूपमा काम गर्नबाट रोक नलगाउन आदेश दिएको हो ।

गएको वैशाख १३ गते माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकको निर्णयको आधारमा निर्वाचन आयोगले असार ९ गते साह र कुशवाहलगायत नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रमुख साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिहरुलाई दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सोही पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो । यसअघि पनि विभिन्न जिल्लाका स्थानीय तहका जनप्रतिनिधि अन्तरिम आदेशबाट पुनर्वहाली भएका छन ।

अदालतको निर्णयसंगै नगरपालिका प्रमुख साह र कुशवाहाको पद पुनर्वाहली भएको छ । यसअघि निर्वाचन आयोगले पद रिक्त भएको निर्णय सुनाएपछि कटहरिया नगरपालिकाकी उपप्रमुख नुर जहान खातुनले एक कार्यक्रमकाबीच कार्यवाहक प्रमुखको कार्यभार समेत सम्हाली सक्नुभएको थियो । तर सर्वोच्च अदालतले मंगलबार नै दुबै नगरपालिका नगरप्रमुखको पद पुनर्वाहाली गरिदिएको हो । आदेशमा प्रत्यक्ष जननिर्वाचित जनप्रतितिनिहरुलाई पदबाट हटाउदा स्थानीय पालिकाले सम्पादन गर्नुपर्ने काम कारवाही एवम् अधिकारमा अपुरणीय क्षति पुग्ने भएकाले मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।

Leave a Reply