सिमरा,बाराको अमलेखगञ्जमा बुधवार बिहान रडमा छेडिएर ज्यान गुमाएका विद्यार्थी लक्की गोलेको परिवारले नेपाल आयल निगमले क्षतिपूर्तिवापत १० लाख रकम उपलब्ध गराउने भएको छ ।नेपाल आयल निगमको अमलेखगञ्जस्थित प्रादेशिक कार्यालयमा बिहीवार भएको छलफलमा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने सहमति भएको हो ।
क्षतिपूर्ति रकमसंगै लक्कीका अभिभावकमध्ये एक जनालाई आयल निगममा रोजगारी र काजकृया खर्चवापत २५ हजार रकम उपलब्ध गराउने सहमति भएको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिनुभयो ।
आयल निगमले काजकृया खर्चवापत २५ हजार रकम पीडित परिवारलाई हस्तान्तरण गरेको छ ।
अमलेखगञ्जस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयले विद्युतीकरणका लागि भन्दै सडकको पेटीमा गाडेको पोलको रडमा छेडिएर स्थानीय ललित गोलेका ११ वर्षीय छोरा लक्कीको घटनास्थलमै ज्यान गएको थियो । घरबाट विद्यालयका लागि निस्किएका लक्कीको टाउको निगमको कार्यालयअगाडि पोलमा भ¥याङ बनाउन राखिएको रडले छेडेको थियो ।लक्की जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैयास्थित होली गार्डेन इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत थिए । उनी विद्यालयको पोशाक लगाएर आयल निगमअगाडी रहेको पार्किङस्थलतर्फ जादै गरेको अवस्थामा घटना भएको थियो । उक्त पार्किङ स्थलमा उनकी आमा बिमला गोलेले ठेला राखेर चिया र खाजाको पसल संचालन गर्दै आउनुभएको थियो । लक्कीले पार्किङ स्थलबाट विद्यालय जानको लागि बसमा चढ्ने गरेका थिए ।
आयल निगमले कार्यालय (डिपो) बाट कर्मचारी निवासतर्फ विद्युतीकरणका लागि करिब तीन वर्षअगाडी गाडिएको उक्त पोलमा चढ्नका लागि रड वेल्डिङ गरेर भ¥याङ बनाइएको थियो । विद्युतीकरणको काम सम्पन्न भएपछि कार्यालयले उक्त रड निकाल्न बेवास्था गर्दा घटना हुन पुगेको हो ।लक्कीको निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालय बिहीवार बन्द भएका छन् । लक्कीको निधनको शोकमा जीतपुरसिमराका निजी विद्यालयले शोकवक्तब्य जारी गर्दै एक दिनका लागि पठनपाठन बन्द हुने जनाएको हो । एनप्याब्सन बाराका कोषाध्यक्ष एवम् न्यू एकता इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मदन रिजालले जीतपुरसिमराका सबै निजी विद्यालयले शोक विदा दिएको जनाउनुभयो ।


















