सिमरा, पूर्वराजा ज्ञानेन्द्र शाह बुधवार सिमरा बँसाइ अन्त्य गरेर काठमाडौं फर्किनुभएको छ ।पूर्वरानी कोमलसहित पुस २३ गते सिमरा आउनुभएका पूर्वराजा शाह तराईका विभिन्न जिल्लाको भ्रमण सकेर २४ दिनपछि सडक मार्ग हुँदै काठमाडौं फर्किनुभएको हो ।सिमरास्थित प्रभु निवासमा बसेर पूर्वराजा शाहले बारा, पर्सा, रौतहट, सर्लाही, मकवानपुरका विभिन्न धार्मिक स्थलको भ्रमण गर्नुका साथै वीरगञ्जमा आयोजना गरिएको नागरिक अभिनन्दनमा समेत सरिक हुनुभएको थियो ।

सिमरा बँसाइका क्रममा पूर्वराजा शाहले आफ्ना शुभेच्छुक संघसंस्था र समर्थकसंग भेटघाट र छलफल समेत गर्नुभएको थियो । काठमाडौं फर्कनुपूर्व पूर्वराजाले सिमरामा आफ्ना शुभेच्छुकका लागि दिवाभोजको समेत आयोजना गर्नुभएको थियो ।
वीरगञ्जको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुन आउनुभएका पूर्वराजा शाहले पुस २८ गते सर्लाहीको मुक्तेश्वर, माघ २ गते रौतहटको शिवमन्दिर, माघ ४ गते बाराको गढीमाई मन्दिर, माघ ७ गते हेटौंडाको भूटनदेवी मन्दिर पुगेर पूजा गर्नुभएको थियो भने माघ ३ गते पर्सा राष्ट्रिय निकुञ्ज र माघ ६ गते जीतपुरसिमरा वडा नम्बर ६ स्थित मुसहर बस्ती पुग्नुभएको थियो ।पूर्वराजा शाहलाई माघ १३ गते वीरगन्जमा नागरिक अभिनन्दन गरिएको थियो । पूर्वराजा शाहले उक्त अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply